तपाईँ सुन्दै हुनुहुन्छः

कालीगण्डकीको स्टिमर सेवा अवरुद्ध

पर्वत-कालीगण्डकी नदीमा सञ्चालन हुँदै आएको जल यातायात स्टिमर सेवा बन्द भएको छ । नदीमा पानीको वहाव बढ्दै गएपछि स्टिमर सेवा बन्द भएको हो । वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असोज सम्मका लागि स्टिमर सेवा बन्द भएको व्यवसायी रबि भट्टराईले बताउनुभयो ।

जलाशयमा दैनिक रुपमा ११ वटा स्टिमर सञ्चालन हुँदै आएका छन् । कालीगण्डकी ए जलविद्युत आयोजनाले बाँधेको बाँधमा स्थानीयले आवाजजावत गर्न स्टिमर चलाउँदै आएका छन् । स्टिमरमा २५ जनाले प्रत्यक्ष रुपमा र दर्जनौ व्यक्तिहरुले अप्रत्यक्ष रुपमा रोजगारीको अवसर समेत पाएका छन् । पर्वत, स्याङजा र गुल्मीका बासिन्दाहरु आवाजावत गर्न र सामान ढुवानी गर्न स्टिमरको प्रयोग गर्ने गरेका छन् । सेवा अवरुद्ध हुँदा पर्वत र स्याङजा जिल्लाका ग्रामीण क्षेत्रका बासिदाहरु यातायातको सुविधाबाट वञ्चित भएका छन् । गुल्मी क्षेत्रमा भने कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि स्टिमरको भर पर्नुपर्ने अवस्था टरेको छ ।

दक्षिण पर्वतको विहादी गाउँपालिकामा रहेको वडा नं.–६, साविकको शालिग्रामदेखि स्याङजाको मिर्मिसम्म करिब आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालन हुँदै आएको छ । यातायात अवरुद्ध हुँदा दैनिक आधाघण्टामा सकिने यात्रा चार घण्टाको पैदल यात्रा गरेर स्याङजाको मिर्मिसम्म पुग्न बाध्य भएका छन् । कतिपय व्यवसायीले वालिङ्गबाट हुवास हुँदै सामान ल्याउने गरेका छन् भने गुल्मीको अर्बेनीसम्म कालीगण्डकी करिडोरमा सवारीका साधन चल्ने भएकाले त्यहाँबाट भरियालाई बोकाएर पनि सामान ल्याउन थालेका छन् ।

हिँउदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका व्यावसायीहरु भरिया र खच्चडबाट समेत महङ्गो शुल्कमा सामान ढुवानी गर्न वाध्य भएको गुनासो गरेका छन् । यहाँको एक मात्र भरपर्दो यातयात सेवाको रुपमा सञ्चालित स्टिमरले यस क्षेत्रका बासिन्दाहरुको आर्थिक अवस्थामा समेत सुधार भएको छ ।एउटा स्टिमरमा एक सयदेखि १ सय ५० जनासम्म यात्रुहरु एकैपटक ओहोरदोहोर गर्न मिल्छ । सेतीबेणीबाट जलयात्रा सुरु गरि मिर्मीमा पुगेर बस मार्फत यस क्षेत्रका बासिन्दाहरु गन्तव्यमा पुग्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button