तपाईँ सुन्दै हुनुहुन्छः

अञ्चल अस्पतालमा स्तनपानकक्ष स्थापना

गलकोट-धवलागिरि अञ्चल अस्पताल बागलुङले स्तनपानकक्ष स्थापना गरेको छ । आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पताल परिसरमै स्तनपानकक्ष सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । सार्वजनिकस्थलमा आफ्ना शिशुलाई स्तनपान गराउन महिलाले असजिलो महसुस गर्ने र त्यसले आमा तथा बच्चाको स्वास्थ्यमा असर गर्ने भएकाले अस्पताल परिसरमै स्तनपानकक्ष तयार गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले बताउनुभयो ।

पछिल्लो समय धवलागिरि अञ्चल अस्पताललाई सुविधासम्पन्न, विश्वासिलो र भरपर्दो अस्पतालका रूपमा विकास गर्न अस्पतालको नयाँ व्यवस्थापन समितिले धेरै सुधार प्रयास गरिरहेको छ । अस्पतालमा हालै मात्र नवनिर्मित अस्पतालको ‘बी’ ब्लक भवन सञ्चालनमा आएसँगै सेवा प्रवाहमा सहजता आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताउनुभयो ।

अस्पतालमा स्वास्थ्य उपचारका लागि आउने आमा तथा शिशुलाई स्तनपानकक्षले निकै सहज हुने अध्यक्ष रानामगरले जानकारी दिनुभयो ।  अस्पतालको टिकट काउण्टर नजिकै स्थापना गरिएको स्तनपानकक्षमा आमाले शिशुलाई स्तनपान गराउनुका साथै आराम गर्ने व्यवस्थासमेत गरिएको छ । सुरक्षित मातृत्व सेवाअन्तर्गत अस्पतालले स्थानपानकक्षको स्थापना गरेको डा पोखरेलले जानकारी दिनुभयो । अस्पताललाई नयाँ व्यवस्थापनमा सञ्चालन गरी जनताको स्वास्थ्य सेवामा सुधार ल्याउन अस्पतालमा विभिन्न कक्ष स्थापना गर्ने सन्दर्भमा स्तनपानकक्ष निर्माण गरेको अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो ।

यसअघि अस्पतालका कर्मचारी तथा सेवाग्राहीले स्तनपानकक्ष नहुँदा सास्ती भोग्दै आएका थिए । स्तनपानका लागि सुरक्षित ठाउँको अभावमा बच्चा जन्माएका आमा लज्जित हुने गरेका थिए । स्तनपानकक्षमा एकै पटक १० आमा बसेर स्तनपान तथा आराम गर्न सक्नेछन् । विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवासुविधा गुणस्तरीय नभएको बिरामीको गुनासो बढेसँगै व्यवस्थापन समितिको पहलमा विशेषज्ञ चिकित्सकको समेत आगमन भएको छ ।

सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको अञ्चल अस्पतालमा हाल नौ विशेषज्ञ र १७ मेडिकल अधिकृतले सेवा प्रदान गरेको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताउनुभयो । अञ्चल अस्पतालमा फोहर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङलगायतका सुविधासमेत प्रदान गर्न थालिएको छ । अञ्चल अस्पतालमा विशेषगरी स्वास्थ्य बिमा प्रभावकारी भएसँगै बिरामीको चाप ह्वात्तै बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button