तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षाका कारण मध्य–तराईको जनजीवन प्रभावित, एकजनाको मृत्यु, सयौं घर डुवानमा

वीरगञ्ज । विगत तीन दिनदेखिको अविरल बर्षाका कारण विभिन्न खोलामा आएको बाढी तथा डुवानले मध्य–तराईका बारा, पर्सा र रौतहट जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।
पर्साको सिघांई नदीमा आएको बाढीले बगाउँदा पर्सागढी नगरपालिका वडा नम्बर १ निवासी मेघराज पटेलको १० वर्षीय छोरा निखिल पटेलको मृत्यु भएको छ ।
खोलामा दाउरा छोप्न गएका पटेलको बाढीले बगाउँदा मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
अविरल बर्षाका कारण वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २६, लालपर्सामा भेडियाही नदीको बाढी पस्दा दर्जनौ घरहरु डुवानमा परेका र गाउँ नै विस्थापित हुने अवस्था आएपछि जिल्ला विपत् व्यवस्थापन समितिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरी स्थानिय वासिन्दालाई सुरक्षित स्थानमा सारेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भयो ।
त्यसैगरी गंगोल नदीमा आएको बाढीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५, मसिहानीको मधुवाहा टोलमा सयौं विगाहा जग्गामा लगाइएको धान बाली बालुवाले पुरेको छ ।
भलुवाई खोलामा आएको बाढी पर्साको पटेर्वा सुगौगी गाउँपालिका वडा नम्बर ५m निचुटाको मोर टोललाई चारै तर्फबाट घेरेपछि १ सय १५ घरपरिवार बाढीको बीचमा परेको स्थानिय राजकुमार साहले जानकारी दिनुभयो ।
उता सिक्टा नदीमा आएको बाढी गाउँमा पस्दा कालिकामाई गाउँपालिका वडा नम्बर १, मुर्ली रवीदास टोलका ५० घर डुवानमा परेको र प्रभावितलाई उद्धार गर्ने कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष नथुनी कुशवाहाले बताउनुभयो ।
यसैगरी पर्साको ठोरी, उदयपुरघुर्मी लगायतका स्थानमा समेत बाढीले क्षति पु¥याएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
पर्साको पोखरीया नगरपालिका वडा नम्बर ७ का एक दर्जनभन्दा बढी घर डुवानमा परेको पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारले बताउन भयो ।
अबिरल बर्षाका कारण वीरगञ्ज महानगरपालिकाका बिभिन्न वडामा रहेका झण्डै ३ सय भन्दा बढी घर डुबानमा परेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा झण्डै ३ फिट पानी जमेका कारण सेवाग्राहीको काम ठप्प भएको छ ।
यसैगरी वीरगञ्जका आदर्शनगर, जेलरोड, गणेशमान चोक, श्रीपुर, रानीघाट, पानीटंकी, भिषुवा, लक्ष्मणवा, छपकैया लगायतका क्षेत्र जलमग्न भएका छन् ।
यसैगरी, विगत तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढीले रौतहटको पनि जनजीवन प्रभावित भएको छ ।
बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।
अविरल वर्षापछि रौतहटको चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएका छन् । सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउने प्रयासमा जुटिरहेको प्रहरीले जनाएको छ । तर, वर्षा जारी रहेकाले कठिनाइ भइरहेको छ ।
यसैबीच, रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बागमतीले बाँध भत्काएको छ । भत्किएको बाँधको पानीले नगरपालिकाका लक्ष्मीपुर, धर्मपुर, पकहा, रजवाडालगायतका वडाहरु जलमग्न भएका छन् ।
उता, लाल बकैया नदीले रौतहटको बन्जरहाको बाँधमा कटान गरेको छ । बाँधमा क्षति पुगेसँगै बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् ।
विगत ३ दिन देखिको लगातारको बर्षाले गत चैत १७ गते आएको हावाहुरीबाट घरबार विहिन बनेका पर्सा बाराका सयौं पिडित परिवार नराम्रो सँग प्रभावित भएका छन ।
पर्साका उदयपुरघुर्मी, मनियारी, बाराको चैनपुर, प्रसौनी, फेटा, भलुही, भरवलिया, पुरैनिया, तेलगाई, हर्दिया लगायत हावाहुरी पिडितहरुलाई निर्माण गरिएको अस्थायी टेण्ट भत्कीनुको साथै टेण्टभित्र बर्षातको पानी पसेपछि सास्ती खेप्नु परेको पिडितहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button