तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले घर बगाउँदा खोटाङमा तीनजना बेपत्ता

खोटाङ । पहिरोले घर बगाउँदा खोटाङमा तीनजना बेपत्ता भएका छन् ।
खोटाङको खोटेहाङ गाउँपालिका–२, वाप्लुखामा पहिरोले घर बगाउँदा एक महिला र उनका दुई नावालक बेपत्ता बनेका हुन् ।
चार दिनदेखि लगातार परेको वर्षाका कारण शुक्रबार बिहान झरेको पहिरोले वाप्लुखा बाघपच्याङका विष्णु राईको घर पुर्दा उनकी श्रीमती रेखा राईसहित दुई नावालक छोरा बेपत्ता भएका हुन् ।
बिहान करिब पाँच बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारैजनालाई बगाएको विष्णुका दाजु श्याम राईले बताए ।
भागेर ज्यान जोगाएका बिष्णुको पनि हातखुट्टामा चोट लागेको छ ।
बेपत्ता भएकाहरुको उद्धारका लागि इलाका प्रहरी कार्यालय, खोटाङबजारबाट प्रहरीसहितको टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो ।
घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने वाप्लुखाको गोपिनीस्थित एकान्त तथा दुर्गम स्थानमा पर्दछ ।
घरदेखि करीब ४ सय मिटरमाथिबाट पहिरो झरेको स्थानमा अहिले पनि भारी वर्षा भइरहेकाले उद्धारमा समस्या भएको स्थानीयवासीले बताएका छन् ।
जिल्लाका अन्य ठाउँमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयm खोटाङले जनाएको छ ।
जिल्लामा लगातारको वर्षासँगै चलेको हावाहुरीले गएरातिदेखि विद्युत सेवा अवरुद्ध बनेको छ भने छोटो दुरीका सवारीसधानहरु समेत ठप्प भएका छन् ।
लगातारको बर्षाका कारण काठमाडौंबाट बिहिबार दिक्तेलका लागि छुटेको बस आजसम्म दिक्तेल पुग्न नसकोको खोटाङ यातायातका महासचिब रामकुमार हिङमाङले बताउनुभयो ।
बाढी, पहिरो तथा ढुङगा झर्ने समस्याका कारण लामो दुरीका सवारीसधानलाई समेत गन्तब्यमा पुग्न कठिनाई रहेको महासचिब हिङमाङको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button