तपाईँ सुन्दै हुनुहुन्छः

कार र ट्रकको ठक्करबाट दुईको मृत्यु

काठमाडौँ । काठमाण्डौमा विहिबार विहान कारको ठक्करबाट एक र चितवनमा ट्रकको ठक्करबाट एक जना मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–२६ लाजिम्पाट साङ्ग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान २ बजे जमल–लैनचौर हुँदै महाराजगञ्जतर्फ जाँदै गरेको बा ९३ प २०५० नम्बरको स्कुटरलाई रातो रङको कारले ठक्कर दिँदा स्कुटर चालक भीमबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा स्याङ्जा पुतलीबजारका सन्तोष घर्ती गम्भीर घाइते भएका छन् ।
महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले तीव्र गतिमा आएको कारले स्कुटरलाई ठक्कर दिँदा गुरुङको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।
घाइते घर्तीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार हुन नसकेपछि भेनस अस्पताल मध्यबानेश्वर पठाइएको र उक्त स्थानमा पनि उपचार हुन नसकेपछि हाल दीर्घायु अस्पताल चाबहिलमा उपचार भइरहेको राठौरले बताउनुभयो । दुर्घटना गरेर फरार कार र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–६ हर्दी चोकमा गए राति ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–८ का ३५ वर्षीय दुख माझी रहेका छन् ।
पूर्वतर्फ गइरहेको ना ५ ख ७२९३ नम्बरको ट्रकले बाटो काट्ने क्रममा गए राति ठक्कर दिएको थियो । गम्भीर घाइते भएका माझीको उपचारको क्रममा राति नै भरतपुर अस्पतालमा मृत्यु भएको हो । माझीसंँगै ट्रकको ठक्करबाट घाइते भएका सोही ठाउंँ निवासी ४५ वर्षीय गोविन्द माझीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

भारतीय ट्रकमा आगजनीको प्रयास

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा आज बिहान आगजनीको प्रयास भएको छ । बिहान करीब ३ बजेतिर आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपि ४१ एटी २६९१ नम्बरको भारतीय मालबाहक ट्रकमा तीन युवाले तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्कुटरमा आएका युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका छन् भने, पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिनुभयो । स्थानीयका अनुसार सलाइ ओसिएर नबलेपछि निजहरु भागेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले घटनाको विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button