तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीले महिलालाई दुव्र्यवहार गरेपछि स्थानीय आन्दोलित

ओखलढुंगा। ओखलढुंगाको श्रीचौरमा प्रहरीले महिलालाई दुव्र्यवहार गरेपछि स्थानीय आन्दोलित बनेका छन् । आईतबार साँझ गाउँकै एक महिलालाई प्रहरी चौकी श्रीचौरका प्रमुख समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) प्रशुराम विश्वकर्माले यौन दुव्यवहार गरेपछि स्थानीय आन्दोलित भएका हुन् ।
आन्दोलित स्थानीयले आईतबार रातभर प्रहरी चौकी घेराउ गरेका थिए । अहिले पनि श्रीचौरको अवस्था तनावग्रस्त छ । ठुलो संख्यामा महिलाहरु उपस्थित भएर दोषीलाई कारबाहीको माग गरिरहेका छन् । घेराउमा रातभर गाउँका पुरुषहरु सहभागी थिए । बिहान उज्यालो भएपछि महिलाहरु चौकी घेर्न पुगेका थिए ।
मदिरा सेवन गरेर अचेत अवस्थामा पुगेका असई विश्वकर्माले स्थानीय एक होटलमा आफुलाई यौन दुव्र्यवहार गरेको भन्दै महिला चिच्याएपछि स्थानीय आक्रोशित भएका थिए । प्रहरीले संवेदनशील अंगमा समातेर यौन सम्पर्कका लागि जवरजस्ति प्रस्ताव गरेको पीडित महिलाको आरोप छ ।
प्रहरीबाटै महिला असुरक्षित भएपछि दोषीलाई कारबाहीको माग गर्दै चौकी घेराउ गरिएको स्थानीय युवा पदम तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरक्षा दिने प्रहरीबाटै असुरक्षा भोग्नु परेको छ । हामी कानुनी कारबाही नभएसम्म चुप बस्दैनौं ।’ प्रहरीले मदिराको तालमा महिलामाथि दुव्र्यवहार गरेको हल्ला फैलिएपछि गाउँका अधिकांश मानिसहरु राती नै चौकी घेर्न पुगेका थिए । यसअघि पनि श्रीचौरमा कार्यरत प्रहरीले मदिरा सेवन गरेर महिलामाथि हिँसा गरेका घटनाहरु सार्वजनिक भएका थिए ।
स्थानीयले नै दिए प्रहरीलाई सुरक्षा
आक्रोशित व्यक्तिहरुले असई विश्वकर्मा र चौकीमाथि आक्रमण गर्ने अवस्था आएपछि स्थानीय अगुवाहरुले नै सुरक्षा दिएका थिए । ‘हामीले अन्न फलाएर खाने जग्गा दिएर, चन्दा उठाएर बनाएको चौकीको भवन क्षति हुने अवस्था आएपछि आफैं गएर चौकी र प्रहरीको सुरक्षा दिऔं ।’ स्थानीय शिक्षक पत्रकार शिबकुमार कार्कीले भन्नुभयो,‘असईलाई कुटेर मात्रै रिस फेर्ने भनेर आएको भिडलाई साम्य पार्न निकै हम्य–हम्य भयो । अहिले दुवै पक्ष राखेर कुरा भईरहेको छ ।’
वडा अध्यक्ष सहितका जनप्रतिनिधि र स्थानीय बसेर घटनाका विषयमा छलफल गरिरहेका छन् ।
प्रहरी र पीडित महिलालाई राती नै स्वास्थ्य परिक्षण गरिएको थियो । परिक्षण गर्दा महिला र प्रहरी दुवैले अत्याधिक मदिरा सेवन गरेको पाईएको स्वास्थ्य चौकी श्रीचौरको रिपोर्टमा उल्लेख छ ।
दोषी भए असईलाई विभागीय कारबाही हुन्छ ः प्रहरी प्रमुख मल्ल
प्रहरीले मदिरा सेवन गरेर महिलामाथि दुव्र्यवहार गरेको भन्ने गुनासो आएकाले उनलाई जिल्ला झिकाउने तयारी भईरहेको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले बताउनुभयो । ‘प्रहरी असई विश्वकर्माले मदिरा सेवन गरेर महिलालाई दुव्र्यवहार गरेको भन्ने कुरा सुन्नमा आएको छ, सत्य के हो त्यो अनुसन्धान गर्छौ ।’ प्रहरी प्रमुख मल्लले भन्नुभयो,‘जिल्ला झिकाउन निर्देशन दिईसकेको छु । यदि गल्ती गरेको रहेछ भने विभागीय कारबाहीका लागि सिफारीस गर्छु ।’ स्थानीयले रातभर चौकीको सुरक्षा दिएर थप घटना हुन नदिएको उहाँले बताउनुभयो ।
जिल्लामा प्रहरीले लागु औषध दुरुपयोग विरुद्धको अभियान चलाएकै समयमा प्रहरीले नै मदिरा सेवन गरेर महिला माथि दुव्र्यवहार गर्नु आपत्तिजनक भएको महिला अधिकारकर्मी पेमडोमा शेर्पाले बताउनुभयो । दोषीलाई कडा कानुनी कारबाही गर्न अधिकारकर्मीहरुले माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button