तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली युरोपका तीन मुलुकको भ्रमणका लागि प्रस्थान

केशव ढुंगाना । प्रधानमन्त्री केपी शर्मा ओली युरोपका तीन मुलुक स्वीट्जरल्याण्ड, फ्रान्स र बेलायतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उप–प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेल लगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलको अति विशिष्ट कक्षमा विदाई गर्नुभएको थियो ।

छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीति अनुरूप प्रधानमन्त्री ओली युरोपेली मुलुकको भ्रमणमा जानुभएको हो ।

संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ ।

प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रधानमन्त्रीको भ्रमण नेपालले हासिल गरेका उपलब्धिमा ती राष्ट्रबाट सहयोगका नयाँ क्षेत्र, लगानी तथा व्यापार प्रवद्र्धन गर्नमा नेपालले आफ्नो प्रयासलाई अघि बढाउन केन्द्रित हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री ओली अन्तराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा जेनेभामा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सिलसिलामा भोली र पर्सी स्विट्जरल्याण्डको जेनेभामा रहनुहुनेछ ।

त्यहाँ रहँदा प्रधानमन्त्री ओलीको केही देशका समकक्षीसँग र उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले जेठ २७ गते बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीको बेलायतका प्रधानमन्त्री टेरेजा मेसँग जेठ २८ गते द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्रीले भ्रमणकै क्रममा नर्वेली प्रधानमन्त्री इर्ना सोल्बेर्गसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार जेठ २९ देखि ३१ गतेसम्म प्रधानमन्त्रीले फ्रान्सको भ्रमण गर्ने र पेरिसमा उहाँले आफ्ना फ्रान्सेली समकक्षी एडवार्ड फिलिपसँग भेटवार्ता गर्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button