तपाईँ सुन्दै हुनुहुन्छः

समृद्धि र विकास अबको आवश्यकताः प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि र विकास अबको आवश्यकता भएको बताउनुभएको छ ।

नेपाल स्काउट युवा सम्मेलनको आज पोखरामा उद्धघाटन गर्नुहुदै प्रधानमन्त्री ओलीले राजनीतिक अधिकारको आन्दोलन सम्पन्न भएकाले अबको यात्रा समृद्धि र विकासका लागि भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशको समग्र विकासका लागि युवाहरूको दक्षता, क्षमता अभिवृद्धिका साथै कर्तव्यनिष्ठ र जिम्मेवार बनाउने अभियान नै स्काउट भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशलाई अस्थिर बनाउन एकता भाँड्ने शक्ति सक्रिय रहेको उल्लेख गर्दै जातीय, क्षेत्रीय सङ्कुचनबाट माथि उठ्नुपर्नेमा जोड दिनुभयो ।

युवा तथा खेलकूदमन्त्री एवं प्रथम स्काउट जगतबहादुर विश्वकर्माले युवालाई सकारात्मक मार्गमा अघि बढाउन स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवाहरूको सम्मेलनले युवाबीच अनुभव आदानप्रदानका साथै सिर्जनात्मकताको विकासमा विशेष सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा नेपालसहित १४ देशका करीब पाँच हजार स्काउट युवा सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button