तपाईँ सुन्दै हुनुहुन्छः

रानीमहल दरवारको जग कटान परिक्षण

पाल्पा–प्रेमको प्रतिक रानीमहल दरवारको जग कटानको अवस्थाका विषयमा परीक्षण गरिएको छ । कालीगण्डकी नदीमाथि निर्माण भएको दरवार भत्किने अवस्थामा पुगेको भन्दै विभिन्न पक्षबाट चिन्ता भईरहेको अवस्थामा गोताखोर प्रयोग गरी जग कटानको परीक्षण गरिएको हो ।

शसस्त्र प्रहरी बल केन्द्रीय कार्यालय काठमाडौंबाट आएका गोताखोर, प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारी, वरिष्ठ हवलदार बलराम अधिकारी र सहायक हवलदार पारस खाम्चाले रानीमहल जग कटानको परीक्षण गर्नुभएको हो । रानीमहल निर्माण भएको १ सय २१ वर्षको अवधीमा ३ फिटदेखि ७ फिट रानीमहलको जग कटान गरेको गोताखोर समूहका टिम लिडर भण्डारीले बताउनुभयो ।

विस १९५४ राणा खड्ग शम्शेरले कालीगण्डकी नदीको चट्टानमाथि रानी तेजकुमारीको सम्झनामा दरवार निर्माण गरेका थिए । विभिन्न पक्षबाट आएको जनगुनासोका आधारमा चट्टानको अध्यन तथा अवलोकन गरिएको हो । प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव समक्ष रानीमहलको जग खतरामा रहेको जनगुनासो आएको थियो । प्रमुख जिल्ला अधिकारी यादवको अगुवाईमा तानसेन नगरपालिका, शसस्त्र प्रहरी बल नम्बर ३५ गुल्मको सहयोगमा रानीमहलको जगमा गोताखोर परिचालन गरी जग कटानको बारेमा जानकारी लिएको हो ।

नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको ऐतिहासिक रानीमहलको कुनै पनि तरिकाबाट खतरा नहोस रानीमहललाई जोखिम हुनबाट बचाउन सकियोस् भनी गोताखोर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । माथिबाट रानीमहलको संरक्षण गर्दै जाने जगबाट भत्किने अवस्था नओस् भनी समयमै सावधानी अपनाउनको लागि यो अभियान चालिएको प्रमुख जिल्ला अधिकार ियादवले जानकारी दिनुभयो । रानीमहलको जगमा भएको कटान जोखिम हटाउन प्राविधिकहरुसँग सरसल्लाह गरी उपयुक्त कदम चालिने उहाँले  जानकारी दिनुभयो ।

अहिलेसम्म कालीगण्डकीको चट्टान माथि रहेको जगको वास्तविक अवस्था पत्ता लागेको थिएन, नत कुनै पक्षबाट यसरी जगको अवस्थाबारे परीक्षण नै गरिएको थियो । यो परीक्षण अध्ययनबाट रानीमहलको जगलाई कुनै खतरा नरहेको प्रमाणित भएको जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले बताउनुभयो । कालीगण्डकी नदीको धार रानीमहलको जगतर्फ बगिरहेको र निरन्तर कटान भईरहेकाले दरबार भत्किने होकी भन्ने चिन्ता बढेको थियो ।

रानीमहलको जग क्षेत्रतर्फ रहेको नदीको धार अर्कोतर्फ पठाउने वा प्राकृतिक रुपममै रानीमहल तर्फ बगिरहेको धारलाई निरन्तरता दिने भन्ने विषयमा अन्योलता रहँदै आएको छ । रानीमहलको जगको चट्टानको परीक्षण गरेका शसस्त्र प्रहरी बल केन्द्रिय कार्यालयका गोताखोर प्रहरी निरीक्षक भण्डारीले रानीमहलको जग यही अवस्थामा दुई तीन सय वर्ष खतरामा नरहेको बताउनुभयो ।

तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी पाठकले रानीमहल संरक्षणका लागि नगरपालिकाले आवश्यक बजेटदेखि विभिन्न संरचना निर्माण गर्ने बताइन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हुमबहादुर पाण्डेले रानीमहलको जग कालीगण्डकीबाट कटान भएको कुरा बाहिर आएपछि प्रमुख जिल्ला अधिकारी यादवले सक्रियता देखाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button