तपाईँ सुन्दै हुनुहुन्छः

आज बाह्रौ गणतन्त्र दिवस

काठमाण्डौ । आज बाह्रौ गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाईदै छ । यस अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखले शुभकामना व्यक्त गर्नुभएको छ ।
यस अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताउनुभएको छ ।
उहाँले मुलुकमा समृद्धिले मूर्तरूप लिने विश्वास व्यक्त गर्नुभएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपछि देश अहिले सुशासन तथा द्रुत आर्थिक र सामाजिक विकाससहित समृद्धि हासिल गर्ने बाटामा रहेको पनि उहाँले बताउनुभएको छ ।

सबै नेपालीको समृद्धिको अपेक्षा साकार पार्नु सबैको सामूहिक उत्तरदायित्व भएको बताउँदै उहाँले सामाजिक न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक सङ्कल्प पूरा गर्ने दिशामा सरकार अग्रसर भएको उल्लेख गर्नुभएको छ । यस दिवसले सबै नेपालीलाई राष्ट्रिय एकता प्रवद्र्धनसहित समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प सार्थक बनाउन प्रेरणा र ऊर्जा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दै राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र दिवस, २०७६ को अवसरमा शुभकामना सन्देश दिँदै त्याग र बलिदानको गौरवपूर्ण इतिहास र अहिलेसम्म प्राप्त उपलब्धिका लागि सबै नेपालीलाई बधाईसहित सम्मान व्यक्त गर्नुभएको छ ।

बाह्रौँ गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपाली जनताले सात दशकदेखि राजनीतिक सङ्घर्ष गरेको उल्लेख गर्नुभयो । सशस्त्र सङ्घर्ष, जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको सफलता नै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाजस्ता अग्रगामी राजनीतिक परिवर्तनहरू भएको उहाँले उल्लेख गर्नुभयो । ‘नेपालको संविधान–२०७२’ ले ऐतिहासिक सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गरेको सन्देशमा उल्लेख छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण देश भएको उपराष्ट्रपति पुनको सन्देशमा उल्लेख छ । विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता र सद्भावलाई संरक्षण एवम् प्रवद्र्धन गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागीतामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण सबैको सङ्कल्प भएको सन्देशमा उल्लेख छ । नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा नेपालमा दिगो शान्ति, सुशासन कायम गर्दै दिगो आर्थिक विकाससहितको समृद्ध राष्ट्र निर्माणको बाटो रोजेको उहाँले बताउनुभएको छ ।

नेपालीको अबको साझा एजेण्डा संविधानको सफल कार्यान्वयन, बलियो राष्ट्रिय एकता र प्रत्येक नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माण भएको सन्देशमा उल्लेख छ । ‘संविधानको सफल कार्यान्वयन गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, नेपाली जनताको स्वतन्त्रता र स्वाधीनतालाई अझै सुदृढ गरी राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ’, सन्देशमा भनिएको छ । सबै नेपालीको सहभागितामा कृषि, जलविद्युत, पर्यटन, जडिबुटी, भौतिक पूर्वाधार, उद्योग, कलकारखानालगायत क्षेत्रलाई आर्थिक समृद्धिका मूल आधार बनाई अगाडि बढ्नुपर्ने उपराष्ट्रपति पुनको सन्देशमा उल्लेख छ । समाजवादउन्मुख अर्थ व्यवस्थासहितको नेपाली जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न सरकार, सबै राजनीतिक दल तथा सबै पक्षको कर्तव्य भएको विज्ञप्तिमा उल्लेख छ ।

गरीबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन् : प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले विकासका लागि हाम्रो प्रस्थानविन्दु सबैलाई खाद्य व्यवस्था, आवास र कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “ जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने सङ्कल्प हामीले लिएका छौंँ । यस सङ्कल्पलाई सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ । त्यसका लागि विभिन्न, पेशा, क्षेत्र र व्यवसायका नेपालीको बलियो साथ रहनेछ भन्ने मेरो विश्वास छ ।”
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसले नेपालीलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याएको तथा गणतान्त्रिक संस्थाहरुको मर्यादा र गणतान्त्रिक प्रक्रियाको सम्मान गर्न सिकाएको बताउँदै गणतन्त्र जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली भएको स्पष्ट गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको तथा गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्ध सरकार केन्द्रित रहेको बताउनुभएको छ । “गरीबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन् । त्यसैले सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन् ”सन्देशमा भनिएको छ ।
वर्तमान प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छाशक्तिका साथ समृद्ध नेपालसुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न अग्रसर भएको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button