तपाईँ सुन्दै हुनुहुन्छः

वन तथा वातावरणसम्बन्धी दुई विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले वन तथा वातावरणसम्बन्धी दुई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वन विधेयक, २०७५’ र ‘वातावरण संरक्षण विधेयक, २०७५’ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले गहन छलफल र अध्ययन गरेर मात्र विधेयकलाई अन्तिम रुप दिनुपर्ने सुझाव दिनुभएको थियो ।

मन्त्री बस्नेतले विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विधेयक समृद्ध बनाउन प्राप्त सुझावलाई ग्रहण गर्दै वनको संरक्षण, उपयोग र लाभका समन्यायिक वितरण गर्ने बताउनुभयो ।

उहाँले नेपालमा वन ४४.७४ प्रतिशत रहेको र यति ठूलो स्रोत निष्क्रिय भएर बसेको हुँदा वातावरणीय, आर्थिक र सामाजिक तीनै पक्षबाट उपयोग गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद दिलेन्द्रप्रसाद बडूले ४४ प्रतिशत वन छ भन्ने तथ्याङ्क सही भए–नभएको बारेमा अध्ययन गर्नुपर्ने र वन अतिक्रमण गरेर भोगाधिकार गरेका बस्तीका कारणले वनमा परेको असरतर्फ सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

सांसद घनश्याम खतिवडाले वन संरक्षण गर्न सामुदायिक वनको भूमिका महत्वपूर्ण रहेको र नयाँ ऐन बनाउँदा चुरेको वन संरक्षणलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो ।

सांसद रामेश्वर राय यादवले वन क्षेत्रमा रुख कम हुन नदिन वृक्षरोपणमा जोड दिनुपर्ने बताउँदै वन र बस्ती जोडिएको ठाउँमा बढी वन विनाश भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मीनबहादुर विश्वकर्माले संस्थागत रुपमा वन क्षेत्रको फँडानी गर्ने काम भइरहेको भन्दै विधेयकमा त्यससम्बन्धी स्पष्ट व्यवस्था हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद योगेश भट्टराईले जलवायु परिवर्तनका समस्या बढ्दै गएको उल्लेख गर्दै ठूला राष्ट्रले गरेका गलत प्रयोगका कारण नेपालजस्ता साना राष्ट्रहरुलाई जलवायु परिवर्तनका असर परेको बताउनुभयो ।

सांसद पुष्पा भुसालले काठमाडौँजस्ता ठूला शहरमा धुँवा र धुलोका कारणले जनजीवन निकै कष्टकर बनेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button