राष्ट्रिय पत्रकारिता दिवस भव्यताका साथ मनाइने
काठमाडौं । राष्ट्रिय पत्रकारिता दिवस यही वैशाख २४ गते भव्यताका साथ मनाइने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिको बैठकले उत्तरदायी आमसञ्चार, लोकतन्त्रको आधार भन्ने मूलनाराका साथ दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो ।
मूलसमारोह समितिका अध्यक्ष समेत रहनु भएका मन्त्री बाँस्कोटाले यो वर्ष आमसञ्चार र पत्रकारिताको रुपान्तरणका लागि स्वर्णिम वर्ष हुने बताउनुभयो ।
मन्त्री बाँस्कोटाले मिडियको नीतिगत सुधारका लागि सरकारले संसदमा पेश गर्न लागेको मिडिया काउन्सिल विधेयक र सार्वजनिक प्रशारण माध्यम सम्बन्धी विधेयकमा सुझावका लागि आग्रह गर्नुभयो ।
उहाँले सञ्चार क्षेत्रमा साना र ठूला लगानीकर्ता, सामुदायिक र व्यवसायिक प्रशारण जस्ता विषयको फरक एवं भिन्नता कानूनी रुपमानै प्रष्ट हुन आवश्यक रहेकोमा जोडदिनुभयो ।
मन्त्री बाँस्कोटाले राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर नेपाली पत्रकारिता क्षेत्रका समस्या र समाधानका उपायको विषयमा गहन छलफल चलाउन निर्देशन समेत दिनुभयो ।
मन्त्री बाँस्कोटाले स्थानीय भाषाको संरक्षणमा समेत ध्यान केन्द्रित गर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्