तपाईँ सुन्दै हुनुहुन्छः

अस्पतालमा अनियमितता गर्ने ४ कर्मचारी निलम्बित

तनहुँ । तनहुँको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रले अस्पतालमा कार्यरत रहेको ४ जना कर्मचारीलाई सेवाबाट निलम्बन गरेको छ । गत जेठ १२ गते अस्पतालमा आउने सेवाग्राहीहरूलाई ठगी गरेको आरोपमा उनीहरूलाई निलम्बन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।


सर्वसाधारणहरूसँग पिसिआर परिक्षण लागि भन्दै अवैध रुपमा शुल्क असुल्ने र अस्पतालको फार्मेसीमा निःशुल्क पाइने औषधीको कृत्रिम अभाव सिर्जना गरी आफु निटक निजी मेडिकलमा खरिद गर्न बाध्य पारेको आरोप उनीहरू माथि लागेको थियो । तत्काल सेवाबाट निलम्बन गरी छानबिन गर्दा समेत उनीहरू दोषी रहेको पाइएपछि जेठ १७ गतेबाट लागु हुनेहरू फार्मेसिष्ट सुधन पन्त, ल्याब टेक्निसियन आनन्द प्रसाद ढुङ्गाना, रेडियोग्राफर विधान तिम्सिना र कार्यालय सहयोगी मदन श्रेष्ठलाई निलम्बन गरिएको हो ।

अस्पताल प्रशासनले उनीहरूलाई स्पष्टीकरण सोधे पनि चित्तबुझ्दो जवाफ पेस नगरेको र निजहरूले करार सम्झौता अनुसार कार्य उल्लङ्घन गरेको समेत जनाएको छ । उनीहरूको संलग्नतामा सरकारी अस्पताल भित्रकै एउटा कक्षबाट छिटो रिपोर्ट उपलब्ध गराउने भन्दै कोरोना सङ्क्रमितका आफन्त र कुरुवासँगै जनही ३ हजारका दरले रकम असुलेका थिए । उनीहरूले सरकारी प्रयोगशालाबाट रिपोर्ट ढिला आउने भन्दै भ्रम समेत सिर्जना गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button