तपाईँ सुन्दै हुनुहुन्छः

बजार नपाउँदा बारीमै कुहियो तरकारी

 रोल्पा । तरकारीले बजार नपाउँदा रोल्पाका किसानहरूले लगाएको  तरकारी बारीमै कुहिएको छ । लामो समयको बन्दाबन्दीका कारण किसानहरूले लगाएको तरकारीले बजार पाउन नसकेपछि तरकारी बारीमै कुहिन थालेको हो ।

 रोल्पा नगरपालिका वडा नम्बर  ५ जेद्बाङको (लाल्टिबाङ) गाउँका कृषकहरूको तरकारी बारीमै कुहिएको हो । स्थानीय कृषक केशव बुढाथोकीले बारीमा लगाएको तरकारी बजारमा बेच्ने बेला भएपनि बजार नपाउँदा बारीमा कुहिएर जान थालेको गुनासो गर्नुभयो ।कृषक बुढाथोकीले आफ्नो भए जति सबै खेतीयोग्य जमिन र छिमेकीको बारीमा  वार्षिक  ६० हजार भाडा तिरी तरकारी लगाएपनि तरकारीले बजार नपाउँदा बारीमै कुहिन थालेको बताउनुभयो ।

कोभिड १९ संक्रमण महामारी रोगका कारण खाडी मुलुकको वैदेशिक रोजगारी गुमाएर गाउँ फर्किए लगत्तै गाउँमा तरकारी खेती तर्फ लागेका बुढाथोकीले झण्डै ३ लाखभन्दा माथि लगानी गरेर टमाटर,फुलिगोभी, बन्दागोभी लगायतका तरकारी लगाउनु भएको छ ।कोरोना संक्रमण रोग नियन्त्रण तथा रोकथाम गर्नको लागी  निषेधाज्ञा देशैभरी लागुहुनुका साथै रोल्पामा पनि भएकोले यातायातका साधन सञ्चालन नहुँदा र  बजार बन्द हुँदा  बन्दाबन्दीले गर्दा तरकारी बिक्री हुन पाएको छैन । ‘बारीमा लगाएको तरकारी  बिक्री गरेर आम्दानी लिई साहुबाट लिएको ऋण तिर्ने र घरपरिवार को भरणपोषण तरकारी बेचेर गर्ने सोचमा थिए, सबै सपना कोभिड १९ संक्रमण रोगले चकनाचुर पारिदियो’,कृषक केशव बुढाथोकीले दुखेसो पोख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button