तपाईँ सुन्दै हुनुहुन्छः

चिकित्सक कुटपिट घटनामा जिल्ला अदालत बाँकेको आदेशविरुद्ध नर्सिङ सङ्घ उच्च अदालत जाने

बाँके । भेरी अस्पताल नेपालगन्जका चिकित्सक र स्टाफ नर्समाथि साङ्घातिक आक्रमण गर्नेलाई जिल्ला अदालत बाँकेले धरौटीमा रिहा गर्न दिएको आदेश विरुद्ध नर्सिङ सङ्घ बाँकेले पुनरावेदन गर्ने तयारी गरेको छ ।      

जिल्ला अदालतको आदेशले पीडितलाई न्याय दिन नसकेको भन्दै नर्सहरूको छाता सङ्गठन नर्सिङ सङ्घ बाँके उच्च अदालत जाने तयारी गरेको हो । नर्सिङ सङ्घ बाँकेका अध्यक्ष लक्ष्मी केसीले कानुनी सल्लाहकारहरूसँग परामर्श गरेर उच्च अदालतमा पुनरावेदन गर्ने बताउनुभयो । ज्यान मार्ने उद्देश्यका साथ अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गर्ने दोषीलाई जिल्ला अदालतले धरौटीमा रिहा गर्न दिनुले अदालतप्रतिको विश्वासमा शङ्का पैदा गरेको अध्यक्ष केसीको भनाइ छ ।     

उहाँले सत्ता र शक्तिबाट अदालत प्रभावित भएको आशङ्का समेत व्यक्त गरिन । गत जेठ १३ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरी दाङका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि आक्रोशित बनेका मृतकका भाई मानबहादुर रावत, भरत रावत र छोरा लोकराज रावतले उपचारमा लापरबाही भएको भन्दै ड्युटीमा खटिएका चिकित्सक र नर्सहरूमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए ।

उनीहरू चिकित्सकहरूको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै अन्धाधुन्ध आक्रमण गर्न थालेपछि उनीहरूको आक्रमणबाट ज्यान जोगाउन डा चन्द्रप्रकाश शाहु, नर्सहरू सदिक्षा गैरे वन्दना श्रेष्ठ र आश्विन गुरुङले पहिलो तलाबाट हाम फालेर ज्यान जोगाउनु भएको थियो ।       

त्यही दिन पक्राउ परेका उनीहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको थियो । त्यही मुद्दामा जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले उनीहरू तीनै जनालाई जनही ५०/५० हजार धरौटी बुझाएर रिहा गर्न हिजो आइतबार आदेश दिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button