तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा कोरोना भाइरसको नयाँ डेल्टा भेरियन्ट पुष्टि

काठमाडौं। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम दिइएको छ ।यी भेरियन्टहरु बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनहरूबाट पाइएको मन्त्रालयले जनाएको छ ।हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भइसकेको मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यससँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागबाट सङ्कलन गरिएका नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी ४८ नमुना सङ्कलन गरेको थियो ।

उक्त सङ्कलित नमुनाहरू विश्व स्वास्थ्य सङ्गठनको नेपाल स्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा परीक्षण गर्दा ७४ नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले डेल्टा भेरियन्टको नयाँ रुपको सङ्क्रमण रोक्नका लागि सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि अपिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button