तपाईँ सुन्दै हुनुहुन्छः

नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट प्रविधिको पर्खाल प्रभावकारी बनेको छ । बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले चालु आर्थिक वर्षदेखि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्न थालेको थियो । यसअघि नदी किनारमा ढलान, ग्यावीयन र मेसिनरी पर्खाल निर्माण गरिदै आएको थियो ।

बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले जगमा आरसिसी र माथि मेसिनरी अथवा ग्यावीयन पर्खाल लगाउने कम्पोजिट पर्खाल सफल देखिएको बताउनुभयो । “यस्तो पर्खाल लगाएको ठाउँमा बाढीले क्षति पु¥याएको छैन,” उहाँले भन्नुभयो “आगामी वर्षको योजनामा पनि यो खालको पर्खाललाई निरन्तरता दिने सोच छ।” यस वर्ष मङ्गलाघाट र कालीपुल क्षेत्रमा एक सय मिटर भन्दा बढी उक्त पर्खाल निर्माण भएको थियो । विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०मा आरसिसी, मेसिनरी र ग्यावीयन पर्खाल बनाएर नदी नियन्त्रण गर्ने प्रस्ताव गरिएको थियो ।

खोलाको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसिसी गरेको पर्खाल बनाइएको परियोजनाका इञ्जिनियर कृष्ण बिश्वकर्माले बताउनुभयो । मङ्गलाघाटतर्फ आरसिसी पर्खाल माथि साढे तीन मिटर अग्लो मेसिनरी र कालीपुल क्षेत्रमा साढे तीन मिटरकै अग्लो ग्यावीयन पर्खाल लगाइएको छ । कालीगण्डकीमा मङ्गलबार राति आएको बाढीले बेनीको सङ्गमचोक पछाडि र कालीपुल बसपार्क क्षेत्रमा यसअघि निर्माण भएको करिब ३० मिटर ग्यावीयन पर्खाल लडाएर कटान गर्न थालेको छ । विसं २०७५ भदौमा कालीगण्डकीमा आएको बाढीले मङ्गलबार भत्किएको भन्दा माथि निर्माण भएको पक्कि पर्खाल पल्टाएको थियो ।

कम्पोजिट पर्खाल निर्माण भएको ठाउँमा बाढीले क्षति पु¥याएको छैन् । अस्थाइ प्रकृतिको ग्यावीयन र पक्कि आरसिसी पर्खाल दुबैले बाढी थेग्न नसकेपछि विकल्पमा उक्त पर्खाललाई प्राथमिकता दिएको परियोजनाका इञ्जिनियर बिश्वकर्माले बताउनुभयो ।

यसअघि निर्माण भएको पक्कि आरसिसी पर्खाल बाढीले लडाएपछि त्यसको विकल्प खोजीएको थियो । परियोजनाले यस वर्ष म्याग्दी बेनी तर्फ रु। तीन करोड र पर्वत बेनीतर्फ रु। दुई करोड बराबरको नदी नियन्त्रणको काम गरेको छ । जलजला गाउँपालिका ३ मा पर्ने गुफाटोल क्षेत्रमा ४५ मिटर लामो र ६ मिटर अग्लो पक्की पर्खाल निर्माण भएको छ । वारिबेनी र बगरफाँट स्थित कालीगण्डकी किनारमा थप ग्यावीयन पर्खाल निर्माण भएको छ । म्याग्दी बेनी तर्फ पनि यसअघि निर्माण भएको पर्खाल संरक्षणका लागि थप पर्खाल लगाइएको छ । उर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जोखिमयुक्त जिल्ला सदरमुकाम बचावट कार्यक्रम अन्तरगत परियोजनाले बेनीमा तीन वर्षयता नदी नियन्त्रण आयोजना सञ्चालन गर्दै आएको छ ।

बरञ्जा जोड्ने नमूना सडक स्तरोन्नति

जिल्लाको मङ्गला गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने बरञ्जालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरञ्जा सडक स्तरोन्नति भएको छ । विस.२०७५ मा गाउँपालिकाले ट्रयाक खोलेको पोक–सातबिसे–ज्यामिरे–तोरीडाँडा–खस्रुपानी–३ न. वडा कार्यालय हुदै ४ नम्बर वडाको कार्यालय रहेको बुकेनी जोड्ने सडकको ज्यामीरे, ३ नम्बर वडा कार्यालय, पहिरो खोरीया, खस्रुपानी र तोरीडाडा क्षेत्रमा स्तरोन्नति गरिएको हो ।

रु. दुई करोड ८० लाख ९८ हजार ३२४ मा गत माघमा ठेक्का सम्झौता गरेको देब एण्ड सायर–तिलक जेभीले निर्धारित समयभित्रनै काम सकेको जनाएको छ । असार महिनासम्म ठेक्काको म्याद भएपनि जेठमै काम सकिएको देब एण्ड सायर तिलक जेभीका साइट इञ्चार्ज लालबहादुर रोकाले बताउनुभयो ।

“सडक फराकिलो बनाउने, ग्यावीयन, मेसिनरी पर्खाल, नाली निर्माण, ग्रेड र मोड सुधार गरिएको छ”, उहाँले भन्नुभयो, “कोरोनाको जोखिम र निषेधाज्ञाको असहज अवस्थामा पनि पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री जुटाएर लक्ष्य अघिनै सडक निर्माण गरेका हौ ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले निर्माण ब्यवसायीले गरेको कामको अन्तिम भुक्तानीका लागि अनुगमन मूल्याङ्कनको चरणमा रहेको बताउनुभयो । पहिराले भत्काएको ठाउँमा मर्मत गर्न लगाइएको छ ।

गत वर्ष रु. एक करोड ८३ लाखमा यो सडकको पोक देखि ज्यामीरे हुदै पहिरो खोरीया क्षेत्रमा स्तरोन्नति गरिएको थियो । राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा यो सडक स्तरोन्नतिका लागि बहुवर्षे क्रमागत आयोजना सञ्चालन गरिएको अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । बाह्ै महिना नियमित यातायात सञ्चालन गर्ने लक्ष्य सहित ग्रामिण क्षेत्रको नमूना सडक आयोजना सञ्चालन गरिएको हो । यसअघि तीन देखि चार मिटर चौडा भएको सडकलाई विस्तार गरेर सात मिटर फराकिलो बनाइएको छ । मापदण्ड अनुसारको मोड र ग्रेड बनाइएको प्राविधिक विपिन आचार्यले बताउनुभयो ।

साबिक बरञ्जा गाबिसमा पर्ने ३ र ४ नम्बर वडाका बासिन्दाको गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसँग सहज पहुँच स्थापित गराउन यो सडकलाई प्राथमिकता दिएको छ । यो सडकबाट एक हजार भन्दा बढी घरधुरी लाभान्वित हुने भएका छन् । यो गाउँपालिकाको गौरवको आयोजना हो । पोकदेखि बुकेनीसम्मको दूरी ६ किलोमिटर छ । पहिरो र भू—क्षय रोकथामका लागि बिस्तार गरिएको सडक छेउछाउमा अम्रिसो, राइखन्यु लगायत घाँसका विरुवा रोपिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button