तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामै घाँटीको मेरुदण्डको शल्यक्रिया सफल

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक घाँटीको मेरुदण्डको शल्यक्रिया सफल भएको छ । घरको भर्‍याङबाट खसेर घाँटीको मेरुदण्ड भाँचिएका जुम्ला तिला गाउँपालिका ७ घोडिसम गाउँका लोकबहादुर रोकायाको पहिलो पटक घाँटीको मेरुदण्डको शल्यक्रिया सफल भएको हो ।

हाडजोर्नी विशेषज्ञ डाक्टर पुजनकुमार रोकायाको नेतृत्वमा डा. अर्जुन तिवारी, निराजन महासेट र डा.रमेश भट्टराइको टोलीले घाँटीको मेरुदण्डको सफल शल्यक्रिया गरेका हुन् । विगतमा यस्ता जटिल प्रकारका समस्याको उपचार जुम्लामै सम्भव नहुँदा स्थानीयले महँगो खर्चमा नेपालगन्ज काठमाडौँ पुगेर उपचार गर्नुपर्ने बाध्यता थियो । 

तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना पछि विशेषज्ञ सेवा सञ्चालन हुन थालेपछि राहत मिलेको स्थानीय खुमिलाल रोकायाले बताउनुभयो । 

जुम्ला अस्पतालले पहिलो पटक खुमिलाल रोकायाका छोरा लोक बहादुर रोकायाको घाँटीको मेरुदण्डको शल्यक्रिया गरेको हो । आफ्नो छोराको सफल शल्यक्रियापछि खुमिलाल रोकायाले भन्नुभयो,“अस्पताल ल्याउने बेला दायाँ हात र दायाँ खुट्टा चल्थेन । राम्रोसित बोल्न पनि सक्थेन । छोरा बाँच्दैन जस्तो लागेको थियो । तर जुम्ला अस्पतालका डाक्टरले छोरालाई पुर्नजन्म दिएकोमा खुसी छु ।” 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आफु जस्ता बेसहारा गरिबका लागि भगवान् जस्तै बनेको समेतको उहाँको भनाई छ । जुम्ला सँगै कर्णालीमा भौगोलिक विकटताका कारण हाडजोर्नीका बिरामी धेरै हुने र जुम्ला अस्पतालले दिएको सेवाले नारिकमा विश्वास पलाएको रोकायाले उल्लेख गर्नुभयो ।

विगतमा यस्तै चोट लागेर राम्रो उपचार नपाएकाहरू अपाङ्ग भएका छन् । तर आफ्नो छोराको उपचार कर्णाली अस्पतालमा गरेपछि अहिले पहिलेको अवस्थामा हिँडडुल गर्न सक्ने भएकोले निकै खुसी छु ।   

यता, हाडजोर्नी विशेषज्ञ डा. पुजन रोकायाले घाँटीको मेरुदण्डको शल्यक्रिया जुम्ला अस्पतालको लागि निकै जटिल र ठुलो शल्यक्रिया भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली अस्पतालमा घाँटीको मेरुदण्डको शल्यक्रिया यसअघि भएको थिएन । निकै जटिल शल्यक्रिया गरेर बिरामी निको भएका छन् । नागरिकको विश्वास जितको छौ । हामी यसैमा खुसी छौ ।” 

कोरोनाको दोस्रो लहरका कारण लकडाउनको समय थियो । बिरामीलाई एमआरआई गर्नुपर्ने थियो । एमआरआई कर्णाली अस्पतालमा छैन । ‘बिरामीलाई बाहिरको अस्पतालसम्म पुग्न पनि कठिन हुने भयो । निकै ठुलो चुनौतीको सामना गरेर बिरामीको शल्यक्रिया गरेको अपतालले जनाएको छ ।  

कोरोना संक्रमण रोकथामका लागि जारी लकडाउनकै बीचमा हाडजोर्नीका ३८ वटा शल्यक्रिया भएका छन् । जसमा २७ जना जुम्लाको र ११ कालिकोटका छन् । 

कर्णाली प्रतिष्ठानका प्रवक्ता भट्टराइले कर्णाली प्रतिष्ठानमा निकै महत्त्वपूर्ण शल्यक्रिया भएको बताउनुभयो । उहाँका अनुसार शल्यक्रियाका बारेमा जनतासम्म सन्देश लैजान जरुरी रहेको र  जतिसुकै जटिल शल्यक्रिया पनि जुम्लामा हुने भएकोले नागरिकलाई नआत्तिन समेत आग्रह गर्नुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button