तपाईँ सुन्दै हुनुहुन्छः

स्कटल्याण्डमा बस्ने नेपालीहरूद्वारा नारायणी अस्पताललाई ५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

वीरगंज । वीरगंजस्थित नारायणी अस्पताललाई स्कटल्याण्डमा बसोबास गर्ने नेपालीहरूको संस्था कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले ५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।   

गैरआवासीय नेपाली सङ्घ मार्फत खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटर मध्ये पाँच थान नारायणी अस्पताललाई हस्तान्तरण गरिएको हो । जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्रबहादुर  प्रधानलाई हस्तान्तरण गरिएको हो ।  

सो अवसरमा डा. प्रधानले स्कटल्याण्डका नेपाली सङ्घसंस्था तथा व्यक्तिहरूले गरेको सहयोगप्रति अस्पताल निकै आभारी भएको बताउनुभयो । सहयोग प्राप्त कन्सन्ट्रेटरले कोरोना सङ्क्रमितको उपचारमा निकै ठुलो मद्दत पुग्ने डा. प्रधानले  बताउनुभयो । 

हस्तान्तरण कार्यक्रममा कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डका प्रतिनिधि प्रकाश अर्याल, नेपाल पत्रकार महासङ्घका केन्द्रिय सचिव  दीपेन्द्र  चौहान, नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य के.सी लामिछाने, एम्बुलेन्स चालक संघका केन्द्रिय सदस्य राजु अर्याल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । 

अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि स्कटल्याण्डमा रहेका नेपालीहरूबाट  व्यक्तिगत रूपमा सहयोग प्राप्त भएको समेत  कार्यक्रममा बताइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button