तपाईँ सुन्दै हुनुहुन्छः

साङ्लोले बाँधेर राखिएका एक पुरुषको मानव सेवा आश्रमद्वारा उद्धार

वीरगंज । मानसिक सन्तुलन गुमाएपछि १५ बर्ष देखि साङ्लोले बाँधेर राखेका वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौका ४३ वर्षीय हृदय नारायण साहको मानव सेवा आश्रमको टोलीले उद्धार गरेको छ । 

मानसिक समस्या देखिएपछि उनलाई साँङलोले बाँधेर घरको एक कुनामा अलपत्र अवस्थामा राखिएको थियो । पछिल्लो समय उनी निकै आक्रामक हुन थालेको र मानिसहरूलाई देख्ने बित्तिकै कुटपिट गर्ने, जथाभाबी गाली गर्न थालेपछि आफूहरू आजित भएको पीडितका बुवा वासुदेव साहले बताउनुभयो । 

पीडितको पारिवारिक रुपमा आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ । हृदय नारायणको मानसिक अवस्था बिग्रिएपछि श्रीमतीले समेत छाडेर हिँडेकी छन् । आमाले छाडेपछि हृदयनारायणका दुई छोरी र एक छोरा बुवाको अवस्था बिग्रिएपछि बाबु आमा हुँदा हुँदै अभिभावक विहीन बन्न पुगेको सामाजिक अभियन्ता प्रकाश थारुले बताउनुभयो । 

उनको बारेमा आफूले  १० दिनअघि मात्रै जानकारी पाएपछि औषधि लगेर दिएको थारु बताउनुभयो । 

तर साहको उग्र व्यवहारका कारण परिवारका सदस्यले औषधि राम्रोसँग खुवाउन नसकेपछि उनलाई उद्धार गरी मानव सेवा आश्रममा ल्याइएको थारुले बताउनुभयो । बुधवार वीरगञ्ज महानगर प्रमुख विजय सरावगी स्वयं मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीसँगै उद्धारका लागि अलौं पुग्नु भएको थियो । 
वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोली, आश्रमका प्रतिनिधि, सामाजिक अभियन्ताहरूको प्रयासमा उनको उद्धार गरी आश्रममा ल्याइएको मानव सेवा आश्रम वीरगञ्ज शाखा संयोजक सानु गुरुङले बताउनुभयो । 

मानव सेवा आश्रममा ल्याएसँगै दुई दिनमै उनको अवस्थामा निकै सुधार आएको र मानसिक सन्तुलन गुमाएकाहरूलाई माया, प्रेम र सदभावको आवश्यकता पर्ने आश्रमकी संयोजक गुरुङले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button