तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा कोरोना सङ्क्रमणले ४ को मृत्यु, २२ जनामा थप संक्रमण

जनकपुरधाम । धनुषा जिल्लामा कोरोना सङ्क्रमणका कारणले ४ जनाको आज मृत्यु भएको छ ।

विभिन्न अस्पतालमा उपचाररत रहनु भएका ४ जना पुरुषको सङ्क्रमणका कारणले मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका सम्पर्क व्यक्ति एवं जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत यमन सुन्दर श्रेष्ठले जानकारी दिनु भएको छ ।

मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका वडा नंं १० लालगढका वर्ष ७४ का पुरुष रहेका छन् । उनको जनकपुरधामको रामजानकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

यसै गरी सबैलाई नगरपालिका वडा नंं १२ का वर्ष ६५ का पुरुषको डा. रमण कुमार मिश्रको निजी क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुने अन्य व्यक्तिमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नंं ८ का वर्ष ६५ का पुरुष रहेका छन् । उनको प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

कोरोना सङ्क्रमणका कारणले नै जनकपुरधाम उपमहानगरपालिका वडा नंं १४ रजौलका वर्ष ६० का पुरुषको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएका प्रादेशिक अस्पतालका चिकित्सक डा. के डी दासले जानकारी दिनु भएको छ ।

मृतक सबै जनामा निमोनिया सहित शरीरमा अक्सिजनको अभाव भएकाले श्वासप्रश्वासको समस्या रहेको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिनु भएको छ ।

कोरोनाको संक्रमण दरमा कमी आए पनि जोखिम कायमै रहेको बताउँदै चिकित्सकले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर ज्येष्ठ नागरिकको सुरक्षामा ध्यान दिनका लागि सुझाव दिनु भएको छ ।

यसै बीच धनुषा जिल्लामा आज थप २२ जनामा कोरोनाको सङ्क्रमणको पुष्टि भएको छ । कूल ९६ जनाको स्वाबको नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो पटक थप भएको सङ्क्रमितसँगै धनुषामा १ हजार २७ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button