तपाईँ सुन्दै हुनुहुन्छः

आज जुन १५ “ज्येष्ठ नागरिक दिवस”

काठमाडौँ । आज नेपालमा पनि ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको सचेतना दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर हरेक वर्ष जुन १५ मा ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको दिवस मनाइन्छ । 

ज्येष्ठ नागरिकको सम्मान गर्दै उनीहरूको अनुभव समाजमा प्रयोग गर्नु पर्नेमा जोड दिँदै संयुक्त राष्ट्र सङ्घले सन् २०१२ मा हरेक वर्षको जुन १५ मा विश्व ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको सचेतना दिवस मनाउने घोषणा गरेको थियो । 

सोही घोषणाअनुसार नेपालमा पनि हरेक वर्ष आजकै दिन दिवस मनाउने गरिएको हो । यस वर्ष दिवसको नारा ज्येष्ठ नागरिकलाई न्यायमा पहुँच भन्ने रहेको छ ।  ज्येष्ठ नागरिक जिउँदो इतिहास भए पनि ज्येष्ठ नागरिकहरू दिन–दिनै एक्लिँदै गइरहेको र  अपहेलित जीवन बिताउन बाध्य बन्दै गएको सन्दर्भमा दिवसको सान्दर्भिकता थप बढेको राष्ट्रसङ्घले उल्लेख गरेको छ । 

गाउँ गाउँ र बस्ती–बस्तीबाट युवाहरू शहर वा विदेशतर्फ पलायन हुनु, देश र समाजका लागि पसिना बगाए पनि बुढेसकालमा स्वास्थ्य सेवा, गाँस, बास, कपासको उपयुक्त प्रबन्ध नहुनु, ज्येष्ठ नागरिकको सवाल राज्य, नागरिक समाज र दातृ निकाय कसैको पनि प्राथमिकता क्षेत्रमा पर्न नसक्नु जस्ता विभिन्न समस्याबाट ज्येष्ठ नागरिकहरू जेलिएका छन् ।  

नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम एवं सेवा सुविधा प्रदान गरिरहेको छ । 

आ.व. ०५२/५३ देखि ज्येष्ठ नागरिकलाई मासिक ‘वृद्धभत्ता’ प्रदान गर्दै आएको छ ।  नेपालमा ३० लाख भन्दा बढी ज्येष्ठ नागरिक रहेको अनुमान गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button