तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहलाई ३५ लाख रुपैयाँको स्वास्थ्य सामाग्री वितरण

सोलुखुम्बु । इको हिमाल नेपालले सोलुखुम्बुका चार स्थानीय तहलाई ३५ लाख रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
इको हिमालले जिल्लाका थुलुङ दूधकोशी, माप्य दूधकोशी, सोताङ र महाकुलुङ गाउँपालिकालाई कोरोना नियन्त्रण र सङ्क्रमितको उपचार सहयोगार्थ ३५ लाख १७ हजार रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको इको हिमाल नेपालका कार्यकारी प्रमुख नारायण ढकालले जानकारी दिनुभयो ।

महाकुलुङ गाउँपालिकालाई एन्टिजेन किट दुई सय थान, भिटिएम किट ९० थान, पोर्टेवल अक्सिजन कन्सन्ट्रेटर दुई थान, फेसशिल एक सय थान, पिपिई सेट २० थान लगायतका १९ प्रकारका स्वास्थ्य सामाग्री सहयोग गरिएको इको हिमालका प्रशासन तथा सञ्चार व्यवस्थापक केशवराज भूषालले जानकारी दिनुभयो ।

इको हिमालले सोताङ गाउँपालिकामा पिपिई सेट १५०, फेसशिल्ड र सर्जिकल क्याप तीन–तीन सय थान, मास्क, स्यानिटाइजर लगायतका २० प्रकारका स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

थुलुङ दूधकोशी गाउँपालिकालाई पनि कोरोना नियन्त्रण तथा सङ्क्रमितको उपचारका लागि अति आवश्यकीय सामाग्रीहरू अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, स्यानिटाइजर, मास्क, पिपिई सेट, एन्टिजेन किट लगायतका १३ प्रकारका स्वास्थ्य सामाग्री प्रदान गरिएको इको हिमालले जनाएको छ ।

जिल्लाकै माप्य दूधकोशी गाउँपालिकालाई ११ प्रकारका स्वास्थ्य सामाग्री सहयोग गरेको छ । ती सहयोगमा अक्सिजन कन्सन्ट्रेटर, मास्क, स्यानिटाइजर लगायतका सामाग्री रहेका छन् । इको हिमाल नेपालले सिन्धुपाल्चोक र काभ्रेपलान्चोकका विभिन्न स्थानीय तहलाई पनि कोरोना नियन्त्रणमा अति आवश्यक मानिएका स्वास्थ्य सामाग्री सहयोग गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button