तपाईँ सुन्दै हुनुहुन्छः

निर्देशिका तयार पारी स्वीकृति लिन अर्थ मन्त्रालयको आग्रह

file photo

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी बजेटमा समावेश भएका कार्यक्रमहरूको कार्यान्वयन शीघ्र गराउन आवश्यक निर्देशिका तयार पारि असार भित्रै अर्थ मन्त्रालयबाट स्वीकृति लिन विभिन्न मन्त्रालयहरूलाई आग्रह गरेको छ ।

अर्थ मन्त्रालयले आगामी बजेटको कार्यान्वयनका लागि विभिन्न मन्त्रालयहरूलाई मन्त्रालयसँग सम्बन्धित बजेटका बुँदाहरुको कार्यान्वयन कार्ययोजना डेडलाईन तोकेरै ल्याउन भनेको छ ।

अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख सहसचिव धनीराम शर्माले बजेटको कार्यान्वयनका लागि आवश्यक कार्ययोजना, मापदण्ड, निर्देशिका निर्माण र ठेक्का लगाउने लगायतका कामहरू साउन भित्र सक्ने गरी काम अघि बढाउन मन्त्रालयहरूलाई आग्रह गरेको बताउनु भयो ।

यस पटकको बजेट मार्फत बजेट कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्ययोजना र निर्देशिका मन्त्रिपरिषद्मा लैजानु नपर्ने व्यवस्था गरेको छ । अब मन्त्रालयहरूले तयार पारेको बजेट कार्यान्वयन कार्ययोजना अर्थ मन्त्रालयले स्वीकृत गरेपछि कार्यान्वयनमा जाने भएको छ ।

यसै बीच आगामी बजेटमा ऊर्जा क्षेत्रका लागि विनियोजन गरिएका कार्यक्रमहरूको कार्यान्वयनका सम्बन्धमा आइतबार ऊर्जा मन्त्रालयमा छलफल भएको छ ।

छलफलमा ऊर्जाका क्षेत्रमा आगामी बजेटमार्फत घोषणा गरिएका राहत र छूटको कार्यान्वयन गर्नुपर्ने आवश्यक नीतिगत परिवर्तन, उज्यालो नेपाल कार्यक्रमको कार्यान्वयन, नेट मिटरिड. र नेट पेमेन्ट जस्ता नीतिको कार्यान्वयन लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिनुभयो ।

छलफलमा अर्थ मन्त्रालयका सचिवहरू, ऊर्जा मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्रमुख लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button