तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिइने


सुर्खेत। नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलावजङ्ग शाहले सरकारमा सहभागी मन्त्रीलाई हट्न निर्देशन दिने बताउनुभएको छ । फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएका एमालेका चार सदस्यलाई तत्काल राजीनामा दिएर सरकार छाड्न निर्देशन दिइने शाहले बताउनुभयो । दलको बैठक बसेर तत्काल सरकारबाट बाहिरिन निर्देशन दिइने उहाँले जानकारी दिनुभयो ।

अदालतको फैसलाअनुसार चारै जना एमालेको प्रदेशसभा सदस्य भएकाले अब दलको ह्विप मान्नुपर्ने शाहको भनाइ छ । एउटा दलको चुनाव चिह्नबाट चुनाव जितेर आएपछि म त्यो दलको होइन म नीति नियम मान्दैन भन्न नपाउने भएकाले पार्टी र संसदीय दलको विधानअनुसार चल्नुपर्ने उहाँको तर्क छ । दल बदलको कानुनअनुसार कारबाही गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कि सरकार छाडेर दल मातहत आउनु प¥यो नत्र कारबाहीको भागीदार हुनुप¥यो ।”

अदालतको फैसलाले नयाँ बहस सुरु

फ्लोर क्रस गरेपछि कारबाहीमा परेका एमालेका सदस्यलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएपछि नयाँ बहस सुरु भएको छ । एमालेले कारबाही गरेपछि पदमुक्त भएका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वोच्चले प्रदेशसभा सदस्य पदमा पुनर्बहाली गरिदिएपछि कर्णाली सरकारका बारेमा बहस सुरु भएको हो । मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई प्रदेशसभामा विश्वासको मतका लागि फ्लोर क्रस गरेर जोगाइदिएका चार सदस्यले अब के गर्छन् भन्ने चासो उब्जिएको छ ।
यस्तो छ कर्णालीको अङ्कगणित

सर्वोच्च अदालतको आदेशपछि प्रदेशसभा ३९ सदस्यीय बनेको छ । अदालतको आदेशपछि हाल कर्णाली प्रदेशसभामा एमालेको एकल बहुमत भएको छ । सभामुख राजबहादुर शाहीसहित एमालेका २०, नेकपा (माओवादी केन्द्र)का १२, काँग्रेसका छ र राप्रपाका एक सदस्य छन् । प्रदेशसभामा बहुमत लिन २० सदस्य भए पुग्छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button