तपाईँ सुन्दै हुनुहुन्छः

कालिकोटमा पुग्यो राष्ट्रिय प्रसारण लाइन, सर्वसाधारणमा खुसीयाली

फोटो क्याप्सनः कालिकोट जिल्ला सदरमुकाम मान्म । तस्बिरः सागर परियार ।
जुम्ला । राष्ट्रिय प्रसारण लाइनको पहुँचमा नपुगेका साबिक कर्णालीका पाँच जिल्ला मध्य कालिकोटमा पहिलो राष्ट्रिय प्रसारण लाइन पुगेको छ । गएको सोमबारदेखि कालिकोट जिल्लामा परिक्षण प्रसारण शुरुसंगै वषौँ देखी अन्धकार झेल्दै आइरहेका कालिकोट बासीले उज्यालो पाउने भएका छन् ।
कर्णाली प्रदेशको सुर्खेतमा पुगेको राष्ट्रिय विद्युतको प्रसारण लाइन केही वर्ष देखी दैलेख जिल्लामा विस्तार भएको लाइन कालिकोटमा पुगेपछि कालिकोट बासी अव अन्धकारबाट मुक्त हुने भएका हुन् ।
साबिक कर्णालीका पाँच जिल्लामा ३३ केभी प्रसारण लाइन विस्तार गर्ने सङ्घीय सरकारको पूर्व निर्धारित लक्ष्य अनुसार कालिकोटमा राष्ट्रिय लाइन पुगेको हो । मुख्यमन्त्री महेन्द्र बहादुर शाही २०७० सालको निर्वाचनपछि ऊर्जा मन्त्री भएको बेला ३३ केभी प्रसारण लाइन साबिकको कर्णालीका जिल्लामा विस्तार गर्ने भनी बजेट समेतको व्यवस्था गरी पहल गरेपछि अन्धकार कालिकोट बल्ल उज्यालो पाएको छ ।
ऊर्जा मन्त्री बनेको बेला शाहीले बजेटको व्यवस्था गरी पहल गरेसँगै कालिकोट बाट नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा पुगेका मोतिलाल महतारा, राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, र संविधान सभा सदस्य तुलाराज विष्ट, जुम्लाका बल बहादुर महतले २०७० सालमा साबिक कर्णालीमा राष्ट्रिय लाइनको विस्तृत अध्यायका लागि माग गरेका थिए ।
सोही अनुसार सुर्खेत दैलेख हुँदै ३३ केभी प्रसारण लाइन कर्णालीका पाँच जिल्लामा विस्तार गर्ने काम भइरहेको छ ।  विस्तार निकै ढिलाइ भए पनि सब स्टेसन निर्माणका लागि जग्गा उपलब्ध सँगै निरन्तर पहल गरेकोले  कालिकोट राष्ट्रिय विद्युतको पहुँचमा जोडिएको कालिकोटका सरोकारवालाहरूले बताएका छन् ।
दैलेख देखी दुल्लुसम्म ३१ वटा पोलहरूमा तार विस्तार गर्न बाँकी रहेकाले अहिले ११ केभी पावर लाइन मात्र कालिकोटमा छोडिएको विद्युत् वितरण केन्द्र कालिकोटले जनाएको छ । कार्यालयका प्रमुख मेघराज जोशीले भन्नुभयो,“बाँकी पोलहरूमा तारा विस्तार गरिसकेपछि पछि मात्र ३३ केभी लाइन छोड्ने छौँ, अहिले परिक्षण स्वरूप ११ केभी पावरको लाइन निरन्तर दिएका छौ । भोल्टेज पनि कमै छोडेको छ । छोडेको पावरले ठुलो पावर दिने मेशिनहरू बाहेक अन्य टिभी, कम्प्युटर चलाउन सकिन्छ ।”
कालिकोटमा राष्ट्रिय प्रसारण लाइन जोडिएपछि कालिकोट बिधुत प्रसारण केन्द्रको कार्यालयमा लगायत कालिकोटवासीले  दीप प्रज्वलन गरी खुसी व्यक्त गरेका छन् । सोमबार साँझ ७ बजे देखी विद्युतको लाइन निरन्तर छोडेपछि कालिकोट बासीले पहलकर्ताहरूलाई धन्यवाद सहित खुसी व्यक्त गरेका छन् ।
कालिकोटको जलविद्युत आयोजना करिब एव महिना देखि बन्द रहेर जेनेरेटेरबाट वैकल्पिक व्यवस्था भएको कालिकोटमा राष्ट्रिय प्रसारण लाइन जोडिएपछि स्थानीय व्यापारी सञ्चार गृह सबैलाई ठुलो राहत भएको कालिकोटका सञ्चारकर्मी हस्त चौलागाईले बताउनुभयो । उहाँका अनुसार कालिकोटमा अरू जिल्ला भन्दा राष्ट्रिय लाइन ल्याउन पहल गर्ने मुख्यमन्त्री शाही लगायत सबैलाई धन्यवाद दिएका छन् ।
अन्य चार जिल्लामामा कहिले पुग्छ ?
साबिक कर्णालीका ५ जिल्ला मध्य कालिकोटमा राष्ट्रिय लाइन पुगेपछि अन्य जिल्लामा कहिले पुग्छ भन्ने, किन ढिलो भयो भन्ने चर्चा चलेको छ । बाँकी जुम्ला, मुगु, डोल्पा र हुम्लामा पनि छिटै राष्ट्रिय प्रसारण लाइन जोड्न पहल गर्न नागरिक अगुवाहरूले माग गरेका छन् ।
जुम्लाका नागरिक अगुवा राज बहादुर महत भन्छन्,“जुम्लाका अधिकांश बस्ती अँध्यारै छन् । जलविद्युत पनि राम्रो छैन । जुम्लाका जनप्रतिनिधिको चासो र चिन्ता कम भएकोले ढिलाइ भयो ।” जुम्लाका १ लाख २० हजार नागरिक मध्य ५ प्रतिशत मात्रै नागरिक विधुतको पहुँचमा छन् ।
यता नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डे भन्छन्, जुम्लामा पनि राष्ट्रिय लाइन विस्तारका लागि पोल गाडेर सकिएको छन् । नेता तथा सांसदहरू जति छिटो पहल गरे उति नै छिटो प्रसारण आउन सक्छ ।
प्राधिकरणको प्राथमिकतामा पनि जुम्ला रहेकोले चाडै प्रसारण लाइन आउनेमा विश्वास व्यक्त गरे । यद्यपि, जुम्ली अगुवाको पहल कदमी भने न्यून देखिन्छ । कालिकोटमा मात्र नभई प्रसारण लाइन साबिकका पाँचै वटा जिल्लामा लाइन विस्तारको कामलाई द्रुत गतिमा बढाइ प्राधिकरणको प्रदेश कार्यालय सुर्खेतले जनाएको छ ।
अहिले कर्णालीका करिब १७ लाख नागरिक मध्य करिब ६७ प्रतिशत नागरिक अझै  विधुतको पहुँचमा छैनन् । कर्णालीका नागरिक अझै सूर्य ऊर्जा र टुक्कीकै भरमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button