तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरका स्थानीय तह मिलेर सरुवा रोग अस्पताल सञ्चालन गर्ने

मकवानपुर । मकवानपुरका स्थानीय तहहरू मिलेर विशेषज्ञ सेवा सहितको सरुवा रोग अस्पताल सञ्चालन गर्ने भएका छन् । जिल्लाका १० वटै स्थानीय तह मिलेर सदरमुकाम हेटौँडामा विशेषज्ञसहितको “स्थानीय तह सरुवा रोग अस्पताल” सञ्चालन गर्ने तयारी गरेका हुन् ।
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजनामा मङ्गलवार बसेको स्थानीय तह समन्वय बैठकमा स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरूले कोरोना भाइरसलगायत यस्तै अन्य महामारीका बेलासमेत जिल्लावासीले सहज उपचार पाउने गरी अस्पताल सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहका प्रमुखहरूले प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र र विभिन्न सामाजिक सङ्घ संस्थाको समेत सहभागितामा अस्पताल सञ्चालन गर्नुपर्ने बिचार प्रकट गरेका थिए । उनीहरूले कोरोना भाइरसको तेस्रो लहर आउने आङ्कलन भइरहेको अवस्थामा तयारी अवस्थामा रहनु पर्ने भन्दै विभिन्न सरुवा रोग तथा महामारी सम्बन्धी उपचार गर्न अस्पताल सञ्चालन गर्नुपर्ने निर्णय गरेका हुन् ।
बैठकले अस्पताल सञ्चालनको प्रारम्भिक कार्य अगाडि बढाउनका लागि जिसस प्रमुख खुलालकै संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिमा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, थाहा नगरपालिकाका मेयर लबशेर विष्ट, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँ, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र सदस्य सचिवका रुपमा समन्वय अधिकारी रहनुभएको छ ।
समितिले प्रदेश सरकार, स्थानीय तह, राजनैतिक दल, विज्ञ, निजी क्षेत्र तथा विभिन्न सङ्घ संस्थासँग एवम् सरोकारवालाहरुसंग छलफल तथा समन्वय गरेर काम अगाडी बढाउने निर्णय गरेको छ । त्यस्तै बैठकमा स्थानीय तहमा कोभिड सङ्क्रमणको अवस्था तथा न्यूनीकरण, आगामी आर्थिक वर्षको बजेट निर्माण तथा प्राकृतिक स्रोतको उपयोगका सन्दर्भमा समेत छलफल गरेका थिए ।
बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, १० वटै पालिकाका प्रमुख एवम् उपप्रमुख, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button