सुदूरपश्चिम प्रदेश सभाको बैठकमा पूर्व बजेटमाथि छलफल, नीति तथा कार्यक्रम भोलि ल्याउने
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा पूर्व बजेटमाथि छलफल भएको छ । बैठकमा प्रदेश सभा सदस्यहरूले आगामी आर्थिक २०७८र०७९ को बजेटमा कोरोना महामारी रोकथाम तथा नियन्त्रण, रोजगारीको सृजना, प्रदेश गौरवका योजना, जनताका आधारभूत आवश्यकता लगायतका क्षेत्रलाई उच्च प्राथमिकता दिएर कार्यान्वयनमुखी बजेट ल्याउने पर्नेमा जोड दिनुभयो ।
बैठकमा प्रदेश सभा सदस्यहरु माया भट्ट, रतन थापा, बलदेव रेग्मी, बिरमान चौधरी, माया तामाङ, कृष्णराज सुवेदी, देवराज पाठक, डिल्ली पन्त, उमा वादी, अम्बिका थापाले भाग लिनुभएको थियो ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले जेठ २४ गतेको प्रदेश सभा बैठकमा आर्थिक बर्ष २०७८र०७९ का लागी बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य र प्राथमिकता सहितको पूर्व बजेट प्रस्तुत गर्नुभएको थियो । सभामुख अर्जुनबहादुर थापाले आजको छलफलसँगै पूर्व बजेटमाथिको छलफल कार्यक्रम सकिएको घोषणा गर्नुभयो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २७ गते
सुदूरपश्चिम प्रदेश सरकारले जेठ २७ गते आगामी आर्थिक बर्ष २०७८र७९ को नीति तथा कार्यक्रम ल्याउने भएको छ । प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले भोलि जेठ २७ गते बस्ने प्रदेश सभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ । पूर्व बजेटमाथिको छलफल सकिएपछि सरकारलाई नीति तथा कार्यक्रम ल्याउने बाटो खुलेको छ ।
प्रदेश सभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले भोलि जेठ २७ गते सरकारले नीति तथा कार्यक्रम ल्याउने जानकारी दिनुभयो । प्रदेश सभा बैठकमा भोलि दिउसो ४ बजे प्रदेश प्रमुखबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्