तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीले कसैले भनेकै भरमा राजीनामा दिनु हुँदैन : अध्यक्ष बिजुक्छे  

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भनेकै भरमा राजीनामा दिन नहुने बताउनुभएको छ ।
भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेमकिपाका अध्यक्ष बिजुक्छेले देशको मुख्य व्यक्ति भएपछि प्रधानमन्त्री ओली अडानमा बस्न सक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले कसैले भनेकै भरमा प्रधानमन्त्रीले राजीनामा दिए सिद्धान्त गलत हुने धारणा व्यक्त गर्नुभयो ।
ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने या नदिने त्यो उहाँको निजात्मक या दलको आन्तरिक कुरा भएको उहाँको भनाई थियो ।
सत्तारुढ दल नेकपाभित्र पनि सरकार या प्रधानमन्त्रीको मात्र खेदो खन्ने काम गर्नुभन्दा पनि पार्टीले आफ्ना नेता, मन्त्री, सांसद, जनप्रतिनिधि तथा कार्यकर्ताहरूमा निःस्वार्थ र इमानदारीपूर्वक जनताको सेवा गर्न उत्साहित गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
नेकपाको विवाद आन्तरिक भएको बताउँदै अध्यक्ष बिजुक्छेले यसको समाधान पार्टीभित्रबाट र संसद्को प्रक्रियाबाट समाधान निकाल्नुपर्ने बताउनुभयो ।
बिजुक्छेले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा विवाद गर्नुभन्दा सक्ने भए अविश्वासको प्रस्ताव ल्याएर प्रम ओलीलाई हटाउन सक्नु पर्ने बताउनुभयो ।
उहाँले कोरोनाको कहरमा पार्टीभित्र झगडा गरी बस्नुभन्दा यस बेलाको महत्त्वपूर्ण कुरा देश जोगिन्छ कि जोगिँदैन भन्ने तर्फ लाग्न नेकपाका नेताहरूलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button