तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीलाई हातपात गरेको अभियोगमा चार पक्राउ

भक्तपुर । प्रहरीलाई हातपात गरेको अभियोगमा सूर्य विनायक नगरपालिका–७ घ्याम्पे डाँडाबाट तीन जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बा.१८ च ५८२५ नम्बरका कार चालक भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका २२ वर्षीय जीवन खनाल, भक्तपुर गोलमडी बस्ने ३१ वर्षीय योगेन्द्र लाखाजु र सूर्य विनायक नगरपालिका–५ कटुन्जे बस्ने ४१ वर्षीय उपेन्द्र घिमिरे रहेको प्रहरीले जनाएको छ ।

सोही ठाउँमा महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट ड्युटीमा खटिएको प्रहरीले सूर्य विनायकबाट घ्याम्पे डाँडातर्फ जाँदै गरेको उक्त कारलाई जाँच गर्दा मादक पदार्थ सेवन गरी कारमा सवार उनीहरूलाई सम्झाई बुझाई गर्ने क्रममा वादविवाद गरी प्रहरीलाई हातपात गरेका प्रहरीले जनाएको छ ।

यसै गरी सूर्य विनायक नगरपालिका–६ घलाते चोकमा प्रहरीलाई हातपात गरेको अभियोगमा ललितपुर बडिखेल बस्ने २५ वर्षीय विकेस श्रेष्ठलाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका विकेसले उक्त ठाउँमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button