तपाईँ सुन्दै हुनुहुन्छः

दुई हजार ७०० को पिसीआर जाँच, रिपोर्ट नेगेटिभ    

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दुई हजार ७६० को पिसीआर परीक्षण गरिएकामा सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये माथिल्लो कर्णालीका चार जिल्ला मुगु, हुम्ला, कालीकोट र जुम्लाबाट सङ्कलित स्वाबको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले प्रतिष्ठानमा शुक्रबारसम्म सङ्कलित स्वाबको पिसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।

भारत गएका तथा देशका विभिन्न स्थानमा रहेका स्थानीयवासी भित्रिने क्रम बढदै जान थालेपछि स्वास्थ्यकर्मीको टोली खटाएर स्वाब सङ्कलन गर्ने कार्यलाई तीव्रता दिइएको डा रावलले बताउनुभयो ।

कालीकोटबाट ६९५, मुगुबाट ३५१, जुम्लाबाट एक हजार २७३, हुम्लाबाट ४०८ स्वाबको पिसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

आरडिटी पोजेटिभ देखिएका हुम्ला नाम्खाका दुई र मुगु खत्याड गाउँपालिकाका एक जनाको पिसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा पिसीआर उपकरण सञ्चालनमा नआउनुअघि जुम्लाका ३३९ को पिसीआर र २७२ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button