तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना अस्पताल र प्रयोगशाला बन्ने स्थानको टुंगो

झापा । झापामा सदरमुकाम भद्रपुरस्थित मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना अस्पताल बनाउने निर्णय भएको छ । सरोकारवालाको पटक–पटकको छलफलपछि आज यसको अन्तिम टुङ्गो लागेको हो ।

प्रदेश सभा सदस्य सांसद बसन्त बानियाँले मेची अस्पतालको नवनिर्मित भवन कोरोना अस्पतालका लागि उपयुक्त हुने निष्कर्ष निकालिएको बताउनु भयो । कोभिड अस्पतालका लागि कलबलगुरी प्रशिक्षण केन्द्र, मेची अस्पतालको नयाँ भवन र चन्द्रगढीको खाद्य गोदामलाई सम्भाव्य स्थानका रुपमा अध्ययन गरिएको थियो । कोरोना अस्पताल १०० बेड क्षमताको हुनेछ ।

कोरोना अस्पतालका लागि आवश्यक जनशक्ति र उपकरण प्रदेश सरकारमार्फत प्राप्त हुने सांसद बानियाँले बताउनुभयो । केही जनशक्ति व्यवस्थापन भइसकेको छ । कोरोना अस्पतालसँगै पीसीआर प्रयोगशालाको पनि टुङ्गो लागेको छ । नेपाल रेडक्रस सोसाइटी झापाको तालिम हलमा पीसीआर प्रयोगशाला सञ्चालन हुनेछ ।

प्रदेश सरकारले झापामा एउटा कोभिड अस्पताल र पीसीआर प्रयोगशाला निर्माण गर्ने निर्णय गरेपछि सरोकारवालाहरु छलफलमा जुटेका थिए ।

आज एकजना थपिएसँगै अहिलेसम्म झापामा ३६ जनामा कोरोना संक्रमण भइसकेको छ । तीमध्ये ३३ जना कचनकबल गाउँपालिकाका छन् । दुईजना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button