तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा कोरोना सङ्क्रमित महिला बस्दै आएको क्षेत्र सिल

भक्तपुर । ४२ वर्षीय कोरोना सङ्क्रमित भक्तपुर नगरपालिका वडा नम्बर ९ का महिला सदस्य रहेको पुष्टि भएपछि प्रहरीले ती महिला बस्दै आएको क्षेत्र सिल गरेको छ ।

सङ्क्रमित महिलालाई शुक्रवार राति नै पाटन अस्पताल पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले बताउनुभयो ।

भक्तपुर नगरपालिकाले जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले शुक्रवार पुष्टि गरेका ९ जना मध्ये एक जना ४२ वर्षीय कोरोना सङ्क्रमित भक्तपुर नगरपालिका वडा नम्बर ९ का महिला सदस्य रहेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।

प्रजापतिका अनुसार शुक्रवार २९ जना जनप्रतिनिधिको रिपोर्ट आएको थियो जसमा २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने एक जनाको मात्र रिपोर्ट पोजेटिभ आएको थियो ।

सङ्क्रमितलाई शुक्रवार राति नै पाटन अस्पताल पुर्‍याएको र परिवारको अन्य सदस्यलाई निगरानीमा राखिएको छ ।

यसअघि उनी राहत वितरण लगायतका काममा सक्रिय थिइन् । त्यही क्रममा कोरोना सङ्क्रमण भएको हुन सक्ने अनुमान छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बिहानबाट कन्ट्याक्ट ट्रेसिङ गरिएको र उहाँको सम्पर्कमा आएकाहरूलाई पीसीआर परीक्षण गर्ने बताउनुभयो ।

सङ्क्रमित मुटुको बिरामी रहेकोले उनले घरमै बस्ने र अस्पताल नजाने इच्छा गरेकी थिइन् । तर अस्पतालमा जस्तो सावधानी घरमा नहुने भनेर सम्झाएपछि उनी अस्पताल जान तयार भएकी थिइन् ।

अन्यत्र सङ्क्रमित पुष्टि भएको आसपासको क्षेत्र तत्काल सिल गर्ने गरिए पनि यहाँ स्थानीय सरकारको दबाबमा प्रहरी र प्रशासनले ढिलो गरी उपयुक्त वातावरण तयार पारी सिल गरेको थियो ।

यसअघि भक्तपुर जिल्लाका तीन जनालाई सङ्क्रमणको पुष्टि भएकोमा दुई जना घर फर्किसकेका छन् भने बाँकी एक जना अस्पतालमै रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button