तपाईँ सुन्दै हुनुहुन्छः

झापाको सदरमुकाम भद्रपुरमा आवतजावतमा कडाइ, कचनकवल गाउँपालिकासँग जोडिएका सीमा बन्द

भद्रपुर, झापा। झापा जिल्लाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले अन्य क्षेत्रबाट नगरपालिका भित्र आवतजावतमा कडाइ गर्न थालेको छ ।

नगर विपद् व्यवस्थापन समितिले आवतजावतका कडाइसँगै लकडाउनलाई पनि कडाइका साथ पालना गर्ने गराउने निर्णय गरेको छ । शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

भद्रपुरसँग सीमा जोडिएको कचनकवल गाउँपालिका ‘कोरोनाको केन्द्रबिन्दु’ बन्दै गएपछि भद्रपुर नगरपालिकाले नगरभित्र उच्च सतर्कताको खाँचो औँल्याएको छ । कचनकवलमा ३३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ ।

बैठकले नगरपालिकाको सीमा क्षेत्र, वडा सीमा क्षेत्र वा टोल विकास संस्थाको सीमा क्षेत्रलाई आवश्यकता अनुसार बन्द गरी आवागमनलाई नियन्त्रण गर्ने निर्णय गरेको नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाले कचनकवलसँगको सीमा यसअघि नै बन्द गरिसकेको छ ।

अति आवश्यक कामको लागि आवतजावत गर्नु परेमा सम्बन्धित वडा अध्यक्षले आवश्यक व्यवस्था मिलाउने निर्णय भएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

नगर विपद् व्यवस्थापन समितिले नगरपालिकाको आन्तरिक स्रोतबाट सञ्चालन हुने योजना तथा कार्यक्रमको नयाँ सम्झौता तथा कार्यादेश पनि बन्द गर्ने निर्णय गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका र फर्किन चाहने वा फर्किएका व्यक्तिको अभिलेख सङ्कलन गरी अद्यावधिक गर्ने तयारी छ । बैठकले नगरपालिका क्षेत्रमा रहेको क्वारेनटाइनमा रहेका व्यक्तिको विवरण अद्यावधिक गरी नियमित रूपमा प्रतिवेदन तयार गर्न आन्तरिक लेखा परीक्षक डिल्लीराज ढकाल र रोजगार संयोजक टीकाराम पाण्डेलाई जिम्मेवारी दिएको छ ।

नगरपालिकाको कार्यालय प्रत्येक दिन बिहान १० बजेदेखि २ बजेसम्म खुल्ला राख्ने निर्णय भएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । ‘वडा कार्यालयहरू आइतबार, मङ्गलवार, बिहीबार र शुक्रवार खुल्ला रहने छन्’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button