तपाईँ सुन्दै हुनुहुन्छः

रोग अन्वेषण प्रयोगशालामा नयाँ मेसिन सहित परीक्षण

जनकपुरधाम । जनकपुरधामको पशुपक्षी तथा रोग अन्वेषण प्रयोगशालामामा एक दुई दिन भित्रमा नै बढी क्षमताको रियल टाईम पिसिआर मेसिन जडान गरिने तयारी भएको छ ।

प्रदेश नंं २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले रेडियो नेपालसंग कुरा गर्दै जनकपुरधाममा रहेको कम क्षमताको पिसिआर मेसिनले सही रिपोर्ट नदिएपछि प्रदेश सरकारले दैनिक १ सय स्वावको परीक्षण गर्ने क्षमता भएको पिसिआर मेसिन जडान गर्न लागेको जानकारी दिनुभयो ।

यस अघि दुई पटक जडान गरिएको दैनिक १० जनाको स्वावको परीक्षण गर्ने पिसिआर मेसिनले सही रिपोर्ट नदिएपछि प्रदेश सरकारले बढी क्षमताको पिसिआर मेसिन खरिद गरेर जडान गर्न लागेको मन्त्री यादवले जानकारी दिनुभयो ।

अहिले जनकपुरधाममा रहेको क्षेत्रिय स्तरको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला आफै सुविधा सम्पन्न भएपनि यसमा थप मर्मत तथा सुधार गरेर प्रयोगशाला सञ्चालन गर्ने र त्यसको विज्ञ सल्लाहकारमा केन्द्रीय प्रयोगशालाका पूर्व निर्देशक राज कुमार महतोलाई राख्ने निर्णय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय निर्देशन एवं समन्वय समितिले गरेको थियो ।

यसका साथै सप्तरीको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा पिसिआर मेसिन जडानका लागि खरिद प्रक्रिया बढाएको दुई तीन दिनभित्रमा प्राप्त हुने अवस्था रहेको प्रदेश नंं २ सरकारका प्रवक्ता यादवले जानकारी दिनु भयो । उक्त ठाउँमा पनि बढी क्षमताको पिसिआर मेसिन जडान हुने बताउनुभयो ।

प्रदेश सरकारले नै पर्सा जिल्लाको नारायणी उपक्षेत्रिय अस्पतालमा रियल टाईम पिसिआर मेसिन जडान गर्ने काम गरेको र राम्रोसंग परीक्षणको काम पनि भईरहेको छ । दैनिक १ सय जनाको परीक्षण भईरहेको छ ।

अहिले जनकपुरधाममा रहेको प्रयोगशालामा परीक्षण रोकिएको तथा राजविराजमा जडान नै नभएको कारणले संकलन भएका स्वावको रिपोर्ट आउनमा ढिलाई भईरहेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

जनकपुर क्लष्टरका धनुषा, महोत्तरी, सर्लाही जिल्लाहरुमा संकलन गरिएको स्वाव परीक्षणका लागि काठमाण्डौ तथा राजविराज क्लष्टरका सप्तरी तथा सिरहाका स्वाव परीक्षणका लागि वी पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाउने कामकाज भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button