तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको खोजी थप तीव्र

लण्डन – दुई हप्ताअघि बेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको खोजी तीव्र पारिएको छ ।

मे ६ तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्कनुभएका मोरिस बेपत्ता हुनुभएको थियो । गत हप्ता हेम्पसायर प्रहरी कार्यालयले खोजीका लागि सर्वसाधारणमा अपिल जारी गरेको थियो ।

सोमबार पुनः अर्को अपिल जारी गर्दै बेन्ट्ली वरपरका मानिसलाई आ–आफ्नो घर वरिपरिका झाडीमा केही शङ्कास्पद चिज भेटिए खबर गर्न भनिएको छ ।

यस्तै उक्त दिन सोही क्षेत्र भई आवतजावत गरेका व्यक्तिको गाडीको ‘डेसक्याप’ पनि हेर्न अनुरोध गरिएको छ । खासगरी गाडीमा जडित उक्त यन्त्रले बाहिरी वातावरणको दृश्य कैद गर्दछ ।

रिचार्डको खोजीका लागि तालिमप्राप्त कुकुरहरू र हेलिकोप्टरको पनि प्रयोग गरिएको छ । उहाँको घर नजिकैको जङ्गलमा प्रहरीको छुट्टै टोलीले खोजतलास तीव्र पारेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ताले प्रेस विज्ञप्ति जारी गरी कूटनीतिक क्षेत्रका एक अब्बल व्यक्ति गुमाएको र उहाँलाई अझै सकुशल अवस्थामा भेट्टाउने आशा रहेको व्यक्त गरेका छन् । बेपत्ता रिचार्ड मोरिस नेपालका लागि सन् २०१५ देखि २०१९ सम्म रातदूतका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण भएको पुष्टि
बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ ।

सोमबार यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिकरूपमा सो कुरा बताएको हो । यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन ।

गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको थियो र पुष्टिका लागि थप अनुसन्धान थालिएको थियो ।

बेलायतको स्वास्थ विभागका एक अधिकृत प्रोफेसर जोनाथन भ्यान ट्यामले अनुसन्धानबाट यस्तो कुरा पत्ता लागेको बताउनुभयो । कसैमा यी दुई मात्र लक्षण देखिए एक हप्ता घरमा अलग्गै बस्न आग्रह गरिएको छ भने यीबाहेक अन्य पूर्ववत् लक्षणसमेत देखिए १४ दिन अलग्गै बस्न भनिएको छ ।

प्रो ट्यामले कोरोनाको सङ्क्रमणबाट हालै भर्ना भएका नयाँ सङ्क्रमितमा यी लक्षण करीब ९३ प्रतिशतलाई देखिएको बताउनुभयो ।

किङ्स कलेज लण्डनका अनुसन्धानकर्मी प्रो टिम स्पेक्टरको समूहले गत हप्ता प्रकाशित गरेको अनुसन्धानले यस्तो निष्कर्ष देखाएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button