तपाईँ सुन्दै हुनुहुन्छः

बन्दाबन्दीले काफल बिक्रीमा समस्या

भीमदत्तनगर – कैलालीको चुरे गाउँपालिका–५ धव्रानीका ४० वर्षीया विश्नादेवी महरा काफल बिक्रीका लागि दैनिक दुई घण्टा हिँडेर भीमदत्त सडक छेउमा रहेको खानीडाँडा बजार पुग्नुहुन्छ ।

आफ्नो बारीमा ६० वटा काफलका बोट फलेर लटरम्म भए पनि महरा भने लकडाउनकका कारण बिक्रीमा समस्या हुँदा निराश हुनुहुन्छ । “यहाँ लुकिछिपी दैनिक १५/२० किलोग्राम बिक्री गरिरहेकी छु”, आर्थिक अवस्था कमजोर भएका महराले भन्नुभयो, “यसपालि त वनको काफल वनकै चरीलाई हुने अवस्था आयो ।”

गत वर्ष रु ६० हजारको काफल एक्लैले बिक्री गर्नुभएकी महराले यस वर्ष गाउँभरि फलेको काफल बारी र वनपाखामै सडिरहेको बताउनुभयो । जेठ मसान्तसम्म बिक्री गर्न पुग्ने गरी काफल फलेको भन्दै उहाँले लकडाउन लम्बिँदै जाँदा समस्या बढ्दै जाने बताउनुभो ।

“लकडाउन थपिँदै गएर काफल बिक्री भएन भने हामीलाई खाद्यान्न किन्नसमेत यो वर्ष धौधौ पर्छ”, उहाँले भन्नुभयो, “समस्याका बेला परेको दिने राहत पनि अनुहार हेरेर दिँदा रहेछन् ।” विगत वर्षमा धनगढी र अत्तरियाबाट ठेकेदार त्यहाँ पुगेर रु दुई सय ५० प्रतिकिलोसम्म खरिद गरेर तराई बिक्रीका लागि ल्याउने गरेका थिए । “यसपालि त खानीडाँडामै प्रतिकिलो रु ८० मा बिक्री गर्दा पनि खपत भइरहेको छैन”, उहाँले भन्नुभयो, “गाउँमा सयौँ क्विन्टल फलेको काफल खेर जाँदैछ ।”

चुरे गाउँपालिका–५ धव्रानीका अधिकांश स्थानीयवासीको आम्दानीको स्रोत काफल रहे पनि यसपालि समस्या रहेको स्थानीय ६० वर्षीया महामती धामीले बताउनुभयो । “यतिका वर्षसम्म काफल बेचेर घर खर्च चलायौँ”, उहाँले भन्नुभयो, “पैसाबाट पनि कोरोना सर्ने हल्लाले काफल बिक्री गर्न डराउने अवस्था रह्यो ।” उहाँले तराईका जिल्लाको तरकारी खपतको प्रबन्ध मिलाएजस्तै पहाडको काफल बिक्रीमा सहज गर्नुपर्ने माग गर्नुभयो ।

कैलालीको अत्तरिया बजारबाट झण्डै डेढ घण्टाको यात्रामा पुगिने खानीडाँडामा यसपालि तराईबाट समेत लकडाउनका कारण गर्मी छल्न जाने कमी रहेको धामीले बताउनुभयो ।

विगतका वर्षहरुमा एउटै परिवारले रु डेढदेखि दुई लाखसम्मको काफल बिक्री गर्ने उहाँको भनाइ छ । “अहिले त काफल बारीमा बिस्कुन भिजाएजस्तो भएको छ”, उहाँले भन्नुभयो, “हाम्रो बारीमा ८० वटा रुखमा काफल पाकेको छ, तराईमा गर्मी हुने मौसम भएकाले यहाँ घुम्न आउने, भ्रमणमा आउने र पहाडी जिल्लाबाट तराई झर्नेहरुले धेरै किन्थे, यस पटक त सबैतिर लकडाउनले ठप्प नै भयो ।”

त्यसैगरी स्थानीय कला धामीले काफल बिक्री नभए घर खर्च चलाउने समस्या हुने बताउनुभयो । “अन्यत्र त समस्यामा रहेका परिवारलाई राहत दिएको सुन्छौँ”, खानीडाँडामा काफल बिक्रीका लागि आउनुभएकी धामीले भन्नुभयो, “हामी गरिबलाई कसले राहत दिने ? ।” डडेल्धुरा भीमदत्त सडकको छेउछाउका धेरै स्थानमा बालबालिकासमेत काफल बिक्रीमा बसेका भेटिन्छन् ।

काफल बेचेर घरको वर्षभरिको अन्न खरिद गर्ने स्थानीय समस्यामा रहेको उहाँको भनाइ छ । “यो समय काफल बेचेर चामल, गहुँ किन्थ्यौँ”, उहाँले भन्नुभयो, “यसपालि त न काफल बिक्री भयो न त गहुँ किन्न तराई जानसक्ने अवस्था नै छ ।”

अत्तरिया–डडेल्धुरा भीमदत्त सडक छेउको खानीडाँडा बजार छेउमै पसल सञ्चालन गरिरहनुभएकी स्थानीय पुर्णादेवी विकले पनि जङ्गलबाट टिपेर ल्याएको काफल बिक्रीलाई सहज बनाउनु पर्नेमा जोड दिनुभयो ।

“लकडाउनले पसल सबै भन्द छन्” उहाँले भन्नुभयो, “बाटो छेउछाउमा काफल बिक्रीमा बस्दा पनि सजहता मिलोस् ।” उहाँले पहाडमा उत्पादन भएको तरकारी बिक्रीमा समस्या रहेको बताउनुभयो ।

सडक छेउमा काफल बिक्री गरिरहेका खानीडाँडाको सूर्यज्योति बोर्डिङ स्कूलमा कक्षा–२ मा अध्ययनरत सन्देश विकले काफल बिक्रीबाट आएको आम्दानीले कापी, कलम खरिद गर्ने गरेको बताउनुभयो ।

“लकडाउनले स्कूल कहिले लाग्ने भन्ने ठेगान छैन”, उहाँले भन्नुभयो, “यसपालि बनबाट ल्याएको काफल बजारसम्म पुर्याउन गाह्रो छ ।” कैलालीको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोका मगरले गाउँपालिकाको सजहपुर, निगाँली, खानीडाँडा, खैराला क्षेत्रमा काफल व्यापक फलेको बताउनुभयो ।

“काफल बिक्री वितरण सहजताका लागि प्रशासनसित समन्वय गरिरहेको छु”, उहाँले भन्नुभयो, “किसानले काफल बेच्न पाए हामीलाई राहत वितरण गर्न पनि सजिलो हुन्थ्यो ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button