तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमितको मृत्यु भएपछि टोखामा २४ जनाको स्वाव सङ्कलन

काठमाडौँ – टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा २४ व्यक्तिको स्वाब सङ्कलन गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले आइतबार नगरपालिका–९ स्थित बुद्धमार्गमा २४ जनाको स्वाब सङ्कलन गरेको हो ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई काठमाडौँको गोँगबुस्थित बुद्धमार्गमा बस्दै आएकी सावित्री तिम्सिना चालिसेको शनिबार सिन्धुपाल्चोकबाट उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।

टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले मृतक बस्ने घर, छिमेकी घर र मृतकले राहत लिँदा सम्पर्कमा आएका जनप्रतिनिधि तथा सामुदायिक सेवा केन्द्रका कर्मचारीको स्वाब सङ्कलन गरिएको जानकारी दिनुभयो । स्वाब सङ्कलनको रिपोर्ट आज साँझसम्म आइपुग्ने वडाध्यक्ष नेपालले बताउनुभयो ।

टोखा नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सुत्केरी बस्ने बुद्धमार्ग क्षेत्र शनिबार साँझदेखि आज साँझसम्म सिल गरेको छ ।

वडाध्यक्ष नेपालले टोखामा बस्ने व्यक्ति कोरोना सङ्क्रमणबाट मृत्यु भएको भन्दै जथाभावीरुपमा घरबाट बाहिर ननिस्कन टोखावासीलाई आग्रह गर्नुभएको छ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button