तपाईँ सुन्दै हुनुहुन्छः

कम्तीमा १ हजार जना अट्नसक्ने क्वारेन्टाइन बनाउन निर्देशन

बुटवल । प्रदेश ५ सरकारले तराईका जिल्लाका स्थानीय तहहरुलाई कम्तीमा १ हजार जना अट्नसक्ने क्षमताका क्वारेन्टाइन बनाउन निर्देशन दिएको छ ।

मुख्यमन्त्री शंकर पोख्रेलको अध्यक्षतामा बसेको प्रादेशिक कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस प्रदेशका तराईका जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा बन्दाबन्दीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने निर्णय गरेको छ ।

वुटवल ११ देवीनगर स्थित एन्फाको भवन र बुटवल तामनगर स्थित कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजीको भवनलाई आइसोलेसन अस्पतालका रुपमा प्रयोगमा ल्याउन भौतिक पूर्वाधार व्यवस्थापन वुटवल उपमहानगरपालिकाले र सञ्चालन व्यवस्थापन सामाजिक विकास मन्त्रालयले मिलाउने निर्णय बैठकले गरेको छ ।

भारतबाट नेपाल आउने व्यक्ति बढ्दै गएको सन्दर्भमा हालसम्म क्वारेन्टाइनको व्यवस्था नगरेका नेपाल भारत सीमाका भंसार नाकामा रहेका पालिकाहरुले प्राथमिकताका साथ कम्तीमा १००० बेडको क्वारेण्टाइन तयार गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

भारतबाट आफ्नो पालिकामा आउन सक्ने व्यक्तिहरुको आंकलन गरी सम्बन्धित सबै पालिकाले त्यसरी आउने व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने गरी आवश्यक पूर्वतयारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै हाल सञ्चालनमा रहेका क्वारेन्टाइनलाई सुविधा र पूर्वाधारहरुको विश्लेषण गरी आइसोलेसन सेण्टरका रुपमा विकास गर्न सामाजिक विकास मन्त्रालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले आवश्यक समन्वय गर्ने लगायतका १९ बुंदे निर्णयसहित बैठकले कोभिड–१९ रोग रोकथाम र नियन्त्रणका लागि क्वारेण्टाइन र आइसोलेसन सेण्टर सञ्चालनसम्वन्धी थप निर्देशन समेत जारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button