तपाईँ सुन्दै हुनुहुन्छः

सिंहदरबार प्रवलीकरण पुनः सुचारु

काठमाडौं ।लकडाउनका कारण केही समय प्रभावित भएको सिंहदरबार प्रवलीकरणको कार्यले पुनः गति लिएको छ । सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ । बाँकी तीनवटा मोहडामा प्रबलीकरणको मुख्य काम सम्पन्न भई यति बेला टायलरमार्वल एवं पेन्टिङको काम भइरहेको छ ।

सिंहदरबार प्रबलीकरण कार्यको कार्यान्वयन हेर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ‘भवन’ उपनिर्देशक झप्परसिंह विश्वकर्माले स्वास्थ्य तथा सुरक्षाका उपाय अपनाएर कामदार थप्दै प्रबलीकरण कार्यलाई अघि बढाइएको बताउनुभयो ।

विश्वकर्माका अनुसार निर्माण कम्पनीले हाल निर्माणस्थलमा बाँकी रहेका तथा स्थानीयस्तरमा उपलब्ध निर्माण सामग्री प्रयोग गरिरहेको छ । निर्माण सामग्री उपलब्ध भएसम्म काम अगाडि बढाउन सकिने उहाँको भनाइ छ ।

कामदारलाई स–सानो समूहमा परिचालन गर्ने तथा कार्यक्षेत्रमा जानुअघि ज्वरो नाप्ने गरिएको निर्माण कम्पनी गौरी पार्वती–न्यू टेक्निकल जेभीका प्रतिनिधि लक्ष्मी सुवेदीले जानकारी दिनुभयो ।

चारवटा मोहडाको प्रबलीकरणमा हाल एक सय १९ कामदारले काम गरिरहेका छन् । सुवेदीले कामदारहरूलाई कार्यस्थलमै बस्ने तथा खाने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

त्यसै गरी, लकडाउनका कारण रोकिएका रानीपोखरी एवं धरहरा पुनर्निर्माणको काम पुनः शुरू भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button