तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा प्रदेश ५ सँग सिमाना जोडिएका स्थानीय तहमा विशेष सतर्कता

पर्वत । प्रदेश ५ सँग सिमाना जोडिएका पर्वतका स्थानीय तहले कोरोना संक्रमण फैलिन सक्ने आंकलन गर्दै बिशेष सतर्कता अपनाउन थालेका छन् ।

जिल्लाको पैयुँ र विहादी गाउँपालिकामा बुटवल, भैरहवा, नवलपरासीमा संक्रमण देखिएपछि त्यताबाट रोग सर्ने सक्ने सम्भावना रहेकाले सीमा नाकाबाट आवतजावत बन्द गरिएको छ ।

सिद्धार्थ राजमार्ग र काली गण्डकी करिडोर हुँदै प्रदेश–५ का जिल्लाबाट मानिसहरु प्रबेश गर्न सक्ने भएकाले सीमा नाकामा कडाई गर्न थालिएको हो ।

दैनिक उपभोग्य बस्तुहरु आयातमा समेत पूर्ण रोक लगाउने निर्णय स्थानीय तहले गरेका छन् ।

विहादी र पैयुँ गाउँपालिकाका बासिन्दाको व्यापारीक केन्द्र बुटवल हो । बुटवलबाट दैनिक उपयोग्य वस्तु, तरकारी र खाद्यन्न आयात हुँदै आएको छ । बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले सङ्क्रमित जिल्ला र भारतबाट समेत कोरोना संक्रमित आउन सक्ने भएकाले खोजतलास गर्न थालिएको बताउनुभयो ।

छिमेकी जिल्ला बागलुङमा कोरोना सङ्क्रमित भेटिए पनि अहिले सम्म पर्वत जिल्ला सुरक्षित छ । जिल्लालाई सुरक्षित राख्न स्थानीय तह र जिल्ला प्रसासनले सजगता अपनाउन अनुरोध गरेका छन् ।

लकडाउनलाई कडाई गरिएको र आवातजावत नगर्न सर्वसाधारणहरुलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button