तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना नियन्त्रणमा बजेट केन्द्रित गर्न दलको सुझाव

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाम्फेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेता, मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्नुभएको छ ।

मन्त्रालयमा आज आयोजित छलफलमा दलका नेताले आगामी बजेट कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि केन्द्रित गर्न सु्झाव दिनुभएको छ । उहाँहरुले सरकारले कोरोना नियन्त्रणका लागि चालेको कदम स्वागतयोग्य भए पनि तीनै तहको समन्वयमा अझै ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुख्य सचेतक देव गुरुङले कोरोना सङ्क्रमण नियन्त्रणमा आउने सम्भावना तत्कालै नदेखिएकाले व्यवस्थापनमा विशेष कदम चाल्नुपर्ने सुझाव दिनुभयो । उहाँले स्वास्थ्य तथा सञ्चार उपकरण खरिदलाई तीव्रता दिन र परीक्षण दर वृद्धि गर्न आग्रह गर्नुभयो । खुला सीमाका कारण अझै खतराका दिन आउन सक्ने भन्दै सीमा बन्द गरेर नेपाल आउन चाहेकालाई आउने व्यवस्था मिलाउन उहाँले सुझाव दिनुभयो ।

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले कोरोना नियन्त्रणका लागि प्रधानमन्त्रीको सुझवुझ प्रशंसायोग्य रहेको भन्दै आगामी वर्ष विकासका आयोजना सञ्चालन गर्न कठिन हुने भएकाले कोरोना नियन्त्रणमा केन्द्रित भएर बजेट निर्माण गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रियसभा सदस्य दीनानाथ शर्माले कोभिड–१९ का कारणले विदेशबाट नेपाल आउन चाहने नेपालीलाई सहजै स्वीकार गरेर उनीहरुलाई राम्रोसँग व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले तत्कालिन र दीर्घकालीन रणनीति बनाएर कोरोना नियन्त्रणको काममा लाग्नुपर्ने बताउनुभयो ।

नेकपाका राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराईले मापदण्ड बनाएर प्रत्येक स्थानीय तहमा कम्तीमा एक हजार क्षमताको क्वारेन्टाइन निर्माण गर्न आवश्यक बजेट व्यवस्थापन गरिनुपर्ने बताउनुभयो । राष्ट्रिय जनता पार्टीका सचेतक लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका सचेतक उमाशङ्कर अरगरियाले आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितको खानपान र बसोबास कष्टपूर्ण रहेको भन्दै राहत वितरणमा स्थानीय तहले दलीय विभेद गरेको भन्दै रोक्न माग गर्नुभयो ।

सुझाव सुनिसकेपछि मन्त्री डा तुम्बाहाम्फेले राजनीतिक दलका तर्फबाट प्राप्त सुझाव महत्वपूर्ण रहेको भन्दै मन्त्रिपरिषद् र कोरोना उच्चस्तरीय समितिमा प्रस्तुत गर्नु जानकारी दिनुभयो ।
–रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button