तपाईँ सुन्दै हुनुहुन्छः

बाँके नरैनापुरका सङ्क्रमितलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल लगिँदै

नेपालगञ्ज । बाँके नरैनापुरका-८ जना कोरोना सङ्क्रमितहरुलाई दाङ्गको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा लगिने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले त्यसका लागि नेपालगञ्जबाट स्वास्थ्यकर्मीसहित एम्बुलेन्स नरैनापुर गएको जानकारी दिनुभयो । उहाँले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ्ग गरेर थप स्वाब लिने गरी जनशक्ति पनि खटाइसकिएको बताउनुभयो ।

आज विहान मात्र नरैनापुरको वडा नम्बर १, ३ र ५ का ८ जना पुरुषलाई कोरोना संक्रमणको पुष्टि भएको थियो । उनीहरु मध्ये २ जना बैशाख २१ गते भारतबाट नरैनापुर आएर क्वारेन्टाइनमा बसेका थिए भने ६ जना बैशाख ३१ गते आएर क्वारेन्टाइनमा बसेका हुन् ।

नेरा प्रावि खोदवाँ क्वारेन्टाइनका २ जना र दिपेन्द्र प्रावि भगवानपुर क्वारेन्टाइनका ६ जनामा कोरोना देखिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । उहाँले अब तत्काल क्वारेन्टाइनमा बसेका सबै र उनीहरुको सम्पर्कमा आएकाहरुको स्वाब लिन जरुरी रहेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बैशाख ३१ गते क्वारेन्टाइनबाट स्वाब लिइएका ४५ जना मध्ये ८ जना संक्रमित भेटिएको बताउनुभयो ।

नरैनापुरका विभिन्न क्वारेन्टाइनमा अहिले ५ सय बढी छन् । भारतबाट आउने क्रम अझैं जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button