तपाईँ सुन्दै हुनुहुन्छः

आज थप तीन जनामा कोरोनाको सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या दुई सय ४६ पुग्यो

काठमाडौँ । आज थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको कूल संख्या दुई सय ४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्का क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज काठमाडौँमा एक जना, नवालपरासीमा एक जना र कपिलवस्तुमा एक जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

आज संक्रमण पुष्टि भएका मध्ये दुईजनाको स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा र एक जनाको भरतपूरमा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हाल सङ्क्रमण पुष्टि भएका हरू मध्ये ३५ जना उपचारपछि निको भई घर फर्किएका छन भने बाकी सङ्क्रमितहरुको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

हाल सम्म नेपालमा एक सय ९८ जना पुरूष र ४८ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हाल सम्म २२ हजार छ सय ६४ जनाको पिसिआर प्रविधिबाट र ६२ हजार तीन सय २७ जनाको आर डि टि विधिबाट परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार तीन सय ६३ जना दुई हजार आठ जनाको आर डि टि परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी देशका विभिन्न स्थानमा १५ हजार सात सय जना क्वारेन्टाइनमा र दुई सय ७२ जना आईसोलेसनमा रहेका छन् ।

काठमाडौँ उपत्यका भित्रका अस्पतालहरूमा छ जना र बाँकी देशका विभिन्न स्थानमा रहेका अस्पताहरूमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

यसैगरी कोरोना भाइरसका बारेमा जानकारी दिन मन्त्रालयले सञ्चालन गरेको निःशुल्क कल सेन्टरहरू ११३३ र १११५ मा पछिल्लो २४ घण्टामा १ हजार चार सय ५७ जनाले सम्पर्क गरी आवश्यक जानकारी लिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

यसैगरी कोरोना संक्रमण परीक्षणको दायरा विस्तार गर्ने उद्देश्यले प्रदेश नं. १, २, ५ कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका विभिन्न २८ जिल्लामा परीक्षण सुरू गर्ने तयारी भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button