तपाईँ सुन्दै हुनुहुन्छः

चरिकोटमा चहलपहल, पसलहरू बिहान १० बजेसम्म खुल्ला

दोलखा । दोलखामा लकडाउन खुकुलो बन्दै गएपछि कोरोना सङ्क्रमणको जोखिम बढेको छ ।

जलविद्युत आयोजना र सडक निर्माणको काममा पर्सालगायत तराईका बिभिन्न जिल्लाबाट ठूलो संख्यामा मजदुरहरु भित्रिएको तर उनीहरुको स्वास्थ्य जाँच नभएकोले जोखिम बढेको स्थानीयको गुनासो रहेको छ ।

जिल्ला सदरमुकाम चरिकोटमा आपसी सहमतिमा विहान १० बजेसम्म सबै पसलहरु खुला रहने, बैङ्क तथा वित्तिय संस्था र सरकारी कार्यालयहरु समेत निर्वाध सञ्चालन हुन थालेपछि बजारमा पहिलेकै जस्तो चहलपहल समेत बढेको छंं ।

सदरमुकाममा चहल पहल बढेपनि कोरोना सम्बन्धि सर्तकता नअपनाइएकोले दोलखामा उच्च जोखिम रहेको एक व्यवसायीले गुनासो गर्नुभयो । दोलखामा १० बजेसम्म पसल खोल्ने सहमति भएको सुनिएको छ, बैङ्क तथा वित्तिय संस्था र सरकारी कार्यालयहरु पनि निर्वाध सञ्चालनमा छन् अनि के दोलखामा चाहि विहान १० बजेसम्म कोरोना आउदैन र ? व्यवसायी अर्जुन कार्कीले भन्नुभयो ।

दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठ व्यवसायीकै माग बमोजिम स्थानीय प्रशासनको अनुमति लिएर नभै आपसी सहमतिमा उच्च सर्तकता अपनाएर केही समय पसल खुलाएको बताउनुहुन्छ ।

लकडाउनको अवधिमा सदरमुकाम चरिकोटमा चहलपहल निक्कै बढेको भएपनि दोलखाकै जिरी, मैनापोखरी, सिंगटी लगायतका बजारमा भने चरिकोटको जस्तो चहलपहल नभएको र पसलहरु पनि खुला नगरिएको त्यहाका स्थानीय बताउछन् ।

दोलखा जिल्लामा लकडाउनकै अवधिमा ११ हजारभन्दा बढी मानिस भित्रिएका छन् । उनीहरु मध्ये केही भारतको बिभिन्न ठाँउबाट समेत आएको बताइएको छ ।

त्यस्तै जिल्लामा सञ्चालनमा रहेको जलविद्युत आयोजना र सडक निर्माण लगायतका विकास निर्माणको कामको लागि एक हजार भन्दा बढी कामदार भित्रिएको निर्माण व्यवसायीहरुकै भनाई छ ।

त्यसरी भित्रिएका मानिसको सामान्य स्वास्थ्य जाँच समेत हुन नसकेको छिमेकीहरुले गुनासो गरेका छन् । विकास निर्माणको लागि जिल्ला भित्रिएका मजदुर र भारतका बिभिन्न ठाँउबाट जिल्ला भित्रिएकाहरुको पिसिआर परिक्षण गरिनुपर्ने नागरिक अगुवा कृष्ण वस्नेत बताउनुहुन्छ ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेल दोलखाको कुनै पनि क्षेत्रमा लकडाउन खुला नगरिएको बताउनुहुन्छ । बैङ्क तथा वित्तिय संस्थाहरु भने पूर्ण रुपमा सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

लकडाउनको अवधिमा भित्रिएका जिल्लावासी र मजदुरको पिसिआर परिक्षणको व्यवस्था गरिने पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button