तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा लकडाउनलाई थप कडा गरिँदै

मेलम्ची । कोरोना सङ्क्रमणको दर बढेसँगै सिन्धुपाल्चोकमा प्रहरीले लकडाउनमा कडाई गरेको छ ।

पछिल्लो सातादेखि फितलो बन्दै आएको लकडाउन बुधबार बिहानैदेखि कडा बनेको छ । जिल्लाका प्रमुख बजारहरुमा प्रहरीले मानिसहरुको आवतजावतमा थप रोक लगाइएको छ ।

मंगलबारसम्म आधा सटर खोलेर ब्यापार गर्दै आएका पसलहरु बुधबार प्रायः ठप्प छन् । एम्बुलेन्स र निर्माण सामाग्री बोकेका सवारी साधनहरु छिटफुट चले पनि तुलनात्मक रुपमा बुधबार सडक सुनसान जस्तै छ । अनावश्यक रुपमा सडकमा हिँड्ने मानिसहरुलाई नियन्त्रण लिँदै उनीहरुलाई केही घण्टा उभ्याएर प्रहरीले सचेत गराइरहेको छ ।

सिन्धुपाल्चोक प्रवेश गर्ने नाकाहरुमा चेकजाँचमा थप कडाई गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अनावस्यक रुपमा बजारमा निस्कन रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । कुनै पनि बाहनामा अब अनावस्यक रुपमा बजार क्षेत्रमा निस्कन दिने छैनौं, काफ्लेले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार जिल्लाका विभिन्न बजार क्षेत्रमा लकडाउन उल्लंघन गर्ने २६ जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button