तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीका सङ्क्रमितको सम्पर्कमा आएका २३ जनाको स्वाब सङ्कलन

सप्तरी । सप्तरीका सङ्क्रमित युवकको कन्ट्रयाक्ट सर्वे (स्क्यानिङ्ग) कार्य बुधबारदेखि शुरु गरिएको छ ।

प्रदेश २ सामाजिक विकास मन्त्रलाय र स्वास्थ्य निर्देशनालयको संयुक्त टोलीले कन्ट्रयाक्ट स्क्यानिङ्ग शुरु गरेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो ।

उहाँले कन्ट्याक्ट सर्वेले ट्रेसिङ्ग गरिसकेपछि सम्पर्कमा आएको व्यक्तिको सङ्ख्या यकिन हुने बताउनुभयो ।

उहाँले युवक क्वारेन्टाइनमा बस्दा र घर फर्किएपछि सीधा सम्पर्कमा आएका दुई महिलासहित २३ जनाको मंगलबार थ्रोट स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि पठाइएको जानकारी दिनुभयो ।

पीसीआरको रिपोर्ट नआएसम्म ती २३ जनालाई पातोस्थित चन्द्रकान्त माविको क्वारेन्टाइनमा राखिएको छ ।

सङ्क्रमित युवकको सीधा सम्पर्कमा आएका आमाबाबु, हजुरआमा, उनीसहित चितवनबाट १३ जनाको समूहमा आएकामध्ये १२, क्वारेन्टाइनमा बसेको बेला क्वारेन्टाइनमा रहेका दुई, त्यही बेला कपिलवस्तुबाट आएर क्वारेन्टाइनमा बसेका तीन, क्वारेन्टाइनका दुई जना प्रहरी र एक जना स्वास्थ्यकर्मी गरी २३ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको बताइएको छ ।

कन्ट्याक्ट ट्रेसिङले सङ्ख्या यकिन भएपछि थप थ्रोट स्वाब सङ्कलन गर्ने योजना रहेको स्वास्थ्य कार्यालयको निमित्त प्रमुख यादवले बताउनुभयो ।

कन्ट्याक्ट ट्रेसिङ र थप थ्रोट स्वाब सङ्कलन कार्य दुई दिनभित्र सकिने गरी द्रुत गतिमा काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button