तपाईँ सुन्दै हुनुहुन्छः

न्यूजिल्याण्डमा लगातार दोस्रो दिन कोरोना सङ्क्रमित देखिएनन्

बैंकक-न्यूजिल्याण्डमा बुधबार लगातार दुई दिनदेखि नयाँ कोरोनाभाइरस संक्रमित व्यक्ति नभेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक आश्ले ब्लूमफिल्डले बुधबार मध्यरातदेखि लागू हुनेगरी लकडाउनलाई व्यापक रुपमा खुकुलो बनाउन पछिल्लो स्वास्थ्य विवरणले निकै हौसला दिएको बताउनुभयो ।
न्यूजिल्याण्डमा अधिकांश व्यवसाय, मलहरु, खुद्रा पसलहरु तथा रेस्टुराँहरु बुधबार मध्यरातदेखि खुला हुँदैछन् । तर सामाजिक दूरीका नियमहरु भने लागू हुनेछन् भने १० जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्धहरु लगाइनेछ । सरकारले बिहीबार वार्षिक बजेट पनि सार्वजनिक गर्दैछ । प्रधानमन्त्री जेसिन्डा आर्डनले कोरोनाभाइरसका कारण मुलुकले सर्वाधिक ठूलो आर्थिक चुनौतीको सामना गर्नु परेको बताउनुभयो ।
यसैबीच, दक्षिण कोरियाले कोरोनाभाइरसबाट नयाँ संक्रमित भेटिएको जनाउँदै सामाजिक दूरी सम्बन्धी हालको व्यवस्थालाई तत्काल खुकुलो पार्ने कुनै योजना नरहेको जनाएको छ । उपस्वास्थ्य मन्त्री किम गाङ–लिपले सियोलमा पत्रकारहरुसँग कुरा गर्दै पछिल्लो पटक देखिएको कोरोना संक्रमणको विस्तृत अध्ययन गरेपछि मात्र उपयुक्त निर्णय लिइने स्पष्ट गर्नुभयो ।
कोरियामा प्रतिदिन ३० जनामा कोरोना देखिए पनि पछिल्ला दिनहरुमा यो १० जनाभन्दा कममा आइपुगेको थियो । यहीकारण विद्यालयहरु पुनः खोल्न ढिलाई गरिएको छ भने राजधानी सियोल वरपरका रात्रिक्लबहरु अस्थायी रुपमा बन्द गरिएका छन् । कोरियाली संक्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार बुधबार दक्षिण कोरियामा २६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरियामा कोरोनाभाइरसबाट संक्रमितको कूल संख्या १० हजार ९६२ पुगेको छ भने २५९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button