तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा दुई जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङ सुरु

भक्तपुर । भक्तपुरमा मंगलबार दुई जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित देखिएपछि दुवै सङ्क्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको कार्य सुरु भएको छ ।

दुबै सङ्क्रमितको बस्ने ठाउँ र सम्पर्कमा आएका व्यक्तिको खोजी गरी कन्ट्याक्ट ट्रेसिङको कार्य सुरु गरिएको भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सुमित्रा गौतमले बताउनुभयो ।

सङ्क्रमित भेटिएका दुबै घरका मानिस र आसपासका समेतलाई निगरानीमा राखीएको छ । दुबै सङ्क्रमितलाई उपचारको दायरामा ल्याएर अस्पताल भर्ना गरिएको छ । महिलालाई भक्तपुर अस्पतालको आईसोलेसनमा र पुरुषलाई टेकु अस्पताल भर्ना गरिएको छ ।

सङ्क्रमित मध्ये २५ वर्षीया महिला वैशाख २९ गते सुनसरीबाट मोटरसाइकलमा आएको खुलेको छ । उनी आरोग्य फाउण्डेसन जाउलाखेलमा कार्यरत रहेको खुलेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।

सङ्क्रमित महिला सुनसरीबाट आएर मध्यपुर थिमि नगरपालिकाको नयाँ ठिमीमा रहेको साथीको डेरामा बसेकोले साथीलाई समेत निगरानीमा राखेर स्वाब परीक्षण गरिदैछ । डेरावाल साथी मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत स्टाफ नर्स रहे पनि संक्रमित साथीसँग सम्पर्कमा रहेपछि उनी काम गर्न नगएको खुलेको छ ।

कोरोना सङ्क्रमण देखिएका अर्का २७ वर्षीय पुरुष सशस्त्र प्रहरी रहेको खुलेको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार उनी चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेको बुझिएको छ ।

रामेछाप स्थायी घर भएका उनी पुर्व गृहमन्त्री भीम रावलको सुरक्षा गार्ड रहेका तर श्रीमती बिरामी भएका कारण एक महिना यता बिदामा चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा रहेको घरमा बस्ने गर्दै आएको बुझिएको छ ।

प्रशासन तथा प्रहरीले उनको विवरण सार्वजनिक गरेका छैनन् । तर उनमा कसरी संक्रमण भयो भन्ने प्रस्ट नभएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख उपरीक्षक सबिन प्रधानले बताउनुभयो ।

मंगलबार भक्तपुरका दुई र काठमाडौंमा एक जना गरी ८३ जना व्यक्तिमा संक्रमण देखिएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या २१७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button