तपाईँ सुन्दै हुनुहुन्छः

प्याजमा रोग लागेपछि किसान समस्यामा

सल्यान । बारीमा रोपेको प्याजमा रोग लागेपछि किसान चिन्तित भएका छन् । व्यवसायिक प्याज खेती गर्दै आइरहेका किसानहरु प्याजमा रोग लागेपछि लगानी डुब्ने भन्दै चिन्तित हुन थालेका हुन् ।

झन्डै एक सय ५० रोपनीमा व्यवसायिक प्याज खेती गर्दै आइरहेका बनगाड कुपिन्डे नगरपालिका १ नाम्रा किसानहरु प्याजमा रोग लागेपछि समस्यामा परेका छन् ।

लकडाउन तथा भारतबाट आउने प्याजमा प्रतिबन्ध लागेपछि व्यवसायिक खेतीमा लागेका नाम्राका किसानहरु रोग र किराले सताएपछि समस्यामा परेका छन् ।

प्याजको बोट पहेलो हुँदै सुक्ने र किराले काटिदिन थालेपछि उत्पादनमा कमी आउने बनगाड कुपिण्डे नगरपालिका–१ नाम्राका किसान विरबल खत्रीले बताउनुभयो । १३ रोपनीमा प्याज खेती गरेका खत्रीले प्याजको डाँठ किराले काटिदिएको बताउनुभयो । उहाँले भन्नुभयो गत वर्ष यहि १३ रोपनीमा ६० क्विन्टल उत्पादन गरेर बिक्री गरेको हुँ तर यो वर्ष मुस्किलले २० क्विन्टल हुने अनुमान गरेको छु ।

अन्य हिउँदे बाली भन्दा प्याजको उत्पादन राम्रो हुने र लगानी पनि कम लाग्ने भएपनि किराले सताएको किसान कमल पोखरेलले बताउनुभयो ।

नाम्राका झन्डै ६० घरले व्यवसायिक प्याज खेती गरी रहेको बताउँदै उहाँले यो वर्ष मुस्किलले लगानी उठ्ने बताउनुभयो । उहाँले भन्नुभयो, विगतका वर्षहरुमा प्याजले राम्रो मुल्य पाएपछि गहुँ, मसुरो चना लगाउन छाडेर प्याज खेतीमा लागेका थियौ तर यो वर्ष लगानी उठाउन नै गाह्रो हुने भयो ।

नाम्राबाट मात्रै बार्षिक चार सयदेखि पाँच सय क्विन्टलसम्म प्याज उत्पादन हुने गर्छ । बोटमा रोग लागेपछि प्याजको गाना निकै सानो लागेको किसानहरुको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button